काठमाडौं- वैदेशिक रोजगारीका क्रममा ठगिएका थुप्रै मानिसहरू सोमबार पनि वैदेशिक रोजगार विभागकै बाहिर उजुरी लेखाउन सदाझैँ लाइनमै भेटिए।
त्यही लाइनभित्र थिए अर्घाखाँचीका हरिप्रसाद श्रेष्ठसहित ३८ जना युवा।
श्रेष्ठ सहित ३८ जना युवाहरुलाई कुवेत पठाइदिन्छु भनी एकै जना व्यक्तिले मोटो रकम असुलेर कुवेत नपठाएपछि उनीहरु ठगी गर्ने व्यक्तिविरुद्ध विभागमा उजुरी पेस गर्न आएका थिए।

विभागमा निःशुल्क उजुरी लिखत विभागबाटै उपलब्ध हुने सुनेका उनीहरु खासै पैसाको जोहो नगरिकनै विभाग आएका थिए।
‘पैसा तिर्नु नपर्ने भयो, विभागभित्रैबाट उजुरीका लागि निःशुल्क लिखत पाइने, आफ्नो व्यहोरा मात्रै भरे पुग्ने सुनेका थियौँ,’ विभाग बाहिर उजुरी लेखाइरहेका श्रेष्ठले भने, 'तर त्यो त हल्ला मात्र रहेछ।'
निःशुल्क लिखत पाइने बारे विभाग पुगेर कर्मचारीलाई सोध्दा उनीहरुलाई आवश्यक लिखत 'फरमेट' (नमूना) विभागमा नभएको बताइयो।
‘हाम्रो लागि फरमेट नै बनेको छैन रे। मिल्दैन रे भित्रबाट। त्यसैले उजुरी लेखाउन बाहिर आयौँ,’ श्रेष्ठले थपे।
विभाग बाहिर लेखापढी गर्नेहरुलाई खोजखाज गरी रकम बुझाएर नै उनीहरुले उजुरी लेखाए।

विभागले सेवाग्राहीहरुका लागि लिखत उजुरी निःशुल्क उपलब्ध गराउने हल्ला चलाएको एक हप्ता बितिसक्दा पनि सेवाग्राहीहरु विभागको बाहिरै लाइनमा बसेर पैसा तिरेरै उजुरी लेखाइरहेका भेटिन्छन्।
विभागको बाहिर लस्करै रहेका सटरमा लेखापढी गर्न बसेका व्यक्तिहरुले उजुरी लेखिदिँदा प्रतिव्यक्ति ५ सयदेखि २ हजारसम्म असुल्ने गरेको पीडितहरु बताउँछन्।
लेखापढी गर्न बसेका व्यक्तिहरुले सोझासाझा मान्छे छानीछानी मनलाग्दी रकम असुल्ने गरेको पाइएको छ।

वैदेशिक रोजगारका क्रममा ठगिएर सहायताका लागि विभागसम्म आएका पीडितहरु विभागको बाहिरै उजुरी लेखाउने क्रममा ठगिएको भन्दै विभागका नवनियुक्त महानिर्देशक भीष्मकुमार भुसालले सेवाग्राहीहरुलाई गत मंगलबारदेखि नै निःशुल्क रुपमा लिखित उजुरी उपलब्ध गराउने बताएका थिए।
तर एक हप्ता बितिसक्दा पनि सेवाग्राहीहरुलाई विभागबाटै उपलब्ध गराउने निःशुल्क लिखित उजुरी प्रभावकारी भएको देखिँदैन। आवश्यक जानकारी नहुँदा र विभागले सुरु गरेको सेवा प्रवाह गर्न नसक्दा सेवाग्राहीहरु बाहिरै लेखापढी गर्ने मानिसहरुसँग मोटो रकम बुझाई लाईनमा बसेर उजुरी लेखाउन बाध्य छन्।
विभागमा कर्मचारी भेटिँदैनन्, खाली कुर्सीलाई सोध्न मिल्दैन : सेवाग्राही
पोर्चुगल पठाइदिन्छु भन्दै एक व्यक्तिले ४ लाख रकम ठगी गरी पोर्चुगल नपठाएपछि उजुरीका लागि विभाग आएकी दोलखाकी प्रमिला तिवारीले विभागभित्र पस्ने बित्तिकै कोठा नम्बर १ मा एउटा सूचना पढिन्।
.jpg)
त्यहाँ निःशुल्क रुपमा लिखित उजुरी विभागबाटै उपलब्ध गराइने लेखिएको थियो।
कर्मचारीलाई सोध्दा मुद्दा तथा अनुसन्धान शाखा कोठा नं १ मा गएर निःशुल्क उजुरी लेख्न पाउने सुनाइयो। उनी त्यहाँ गइन्। कोठामा खाली कुर्सी मात्र थिए।
‘१५ मिनेट जति कुरेर बसेँ। कोही आउनु भएन, कहाँ कसरी निःशुल्क उजुरी दिने भन्ने थाहै भएन। बाहिर गएर लेखाएँ’ तिवारीले भनिन्।
नेपाल लाईभकर्मी विभाग पुग्दा १ बजेदेखि ३ बजेसम्म त्यहाँको कुर्सी खाली नै भेटियो। कोही कर्मचारी पनि देखिएनन्। 
विभागमा पीडितहरुले दायर गर्ने उजुरी विभागको सोधपुछ, दर्ता चलानी, शाखाबाट निःशुल्क उपलब्ध गराइने विभागले सूचना समेत प्रकाशित गरेको थियो। विभागको बाहिरै पनि सूचना टाँसिएको छ।
सेवाग्राहीहरुले सूचना हेरेर विभागको भित्र पस्दा कुर्सी खाली भेटिन्छ, कर्मचारी भेटिँदैनन्।
हामी निःशुल्क उजुरी लिखत सेवा दिइरहेका छौँ : विभाग
विभागका महानिर्देशक भीष्मकुमार भुसाल विभागले गत मंगलबारदेखि नै सेवाग्राहीलाई निःशुल्क लिखित उजुरी उपलब्ध गराउँदै आएको दाबी गर्न छोडेनन्।
‘हामीले सेवाग्राही ठगिनु नपरोस् भन्ने हिसाबले एक हप्ताअघिदेखि नै विभागभित्रैबाट निःशुल्क लिखित उजुरी उपलब्ध गराउँदै आएका छौँ,' उनको भनाइ छ।
नयाँ अभ्यास भएकाले सबै प्रकृतिका ठगीका विषय मिल्ने गरी उजुरी फरमेट उपलब्ध गराउन नसकेको भन्दै महानिर्देशक भुसाल जोगिने गरेका छन्।
उनले वैशाख १७ गते मंगलबार नै वैदेशिक रोजगार विभागमा दर्ता गर्नुपर्ने उजुरीका लिखत सोही दिनदेखि कार्यालय भित्रैबाट निःशुल्क रुपमा तयार गरी दर्ता गरिदिने सेवा सुरु गरिसकेको भन्दै फेसबुकमा स्टाटस पनि लेखेका थिए।
'विगतमा उजुरीकर्ताले उजुरीको लिखत तयार गर्न लाग्ने गरेको २ देखि ५ हजारसम्म जोगिने र उजुरीका प्रतिवादीसम्म उजुरीको सूचना चुहिने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ,’स्टाटसमा उनले लेखेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।