काठमाडौं - कृषि विकास बैंकको ठगी घटनामा बैंकका थप एक कर्मचारीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। बैंकका कर्मचारी तारानाथ पाण्डेलाई पनि सिआईबीले पक्राउ गरेको हो।
पाण्डेलाई बिहिबार अदालतले १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
ठगीकी प्रमुख दिपिका रेग्मीलाई अदालतले जेल चलानको आदेश दिएको छ। बुधबार उच्च अदालत, पाटनले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।
पक्राउ परेका बैंकका अन्य कर्मचारीहरुलाई धरौटीमा छाड्ने आदेश भएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
अन्तरबैंक हिसाबमिलानका नाममा उनले करिब ५ करोड रुपैयाँ ठगी गरेको बैंकको आन्तरीक छानबिनमा खुलेको थियो। सोही आधारमा सिआईबीले पक्राउ गरी मुद्दा दायर गरेको हो।
कृषि विकास बैंकको न्यूरोड शाखामा काम गर्ने दिपिकालाई सिआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो। बैंककी सहायक टेलरका रुपमा काम गर्ने रेग्मीले अन्तर शाखा कारोबार हिसाब क्लियरीङ देखाएर बैंकमा हिनामिना गर्दै आएकी थिइन्। जून घटनामा बैंकका अन्य कर्मचारीको समेत संलग्नता देखिएको थियो।
करिब १ वर्षको अवधिमा बैंकबाट त्यसरी ४ करोड ९१ लाख रुपैयाँ मिहामिना भएको सिआईबीका एसपी श्रेष्ठले बताए। त्यसरी ठगी गरेको पैसा उनले बिदेश घुमेर तथा गहना किनेर सिध्याएको अनुसन्धानमा खुलेको छ। उनको लकरमा प्रहरीले एक सय ७० तोला सुनका गहना बरामद गरेको थियो। प्रहरीले उनलाई गहना बेच्ने बालाजुमा सुन पसल चलाउने प्रकाश घतानीलाई पनि पक्राउ गरेको थियो।
पक्राउ परेका बैंकका शाखा प्रबन्धक प्रेमहरी ढुङगेल, इलेक्ट्रोनिक्स चेक क्लियरीङ शाखाका प्रमुख गोपाल गिरी, कर्जा शाखा प्रमुख महेश्वर मरहठ्ठा र बैंकका पूर्व कर्मचारी सलिल रेग्मीलाई धरौटीमा छाड्ने आदेश भएको छ।
ढुङगेललाई एक करोड धरौटीमा मागिएका छ। गिरी, मरहठ्ठालाई २५ २५ लाख रुपैयाँ धरौटी मागेको छ। बैंकमा कर्मचारी रमेश थापा साधरण तारेखमा छुटेका छन्।
घटनामा संलग्न नेपाली सेनाका सहायक रथी रमेश बिष्टमाथि पनि सेनाले छानबिन गरिरहेको छ। दिपिकाले ठगेकोमध्ये करिब ३३ लाख डा.बिष्टको खातामा भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।