लिबाङ, रोल्पा- जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४/७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन्। यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिइन्।
हराएका मध्ये एक बालक र तीन महिला फेला परेको भए पनि अन्य चार बालकसहित २७ जनाको अवस्थाका बारेमा परिवार तथा तिनका आफन्त र प्रहरीलाई कुनै किसिमको जानकारी छैन। छुट्टाछुट्टै स्थानबाट हराएका बालकहरु क्रमशः १०, १३, १५ र १६ वर्षका रहेका छन् भने महिला २० देखि ३५ वर्ष उमेर समूहका रहेको प्रसनि बुढामगरले जानकारी दिइन्।
उनका अनुसार आव २०७३/७४ मा ५६ महिला, २२ बालक र ९ जना बालिका जिल्लाबाट हराएका थिए।
तीमध्ये चार महिला, २० बालक र ६ बालिका फेला परिसकेका छन् भने अन्यको अवस्थाका बारेमा आजसम्म पनि कसैलाई कुनै किसिमको जानकारी छैन। यस्तै आव ०७२/७३ मा पनि महिला तथा बालबालिका गरी ८० जना हराएका थिए। यसरी परिवारलाई जानकारी नदिई घर, विद्यालय, पसल, धारा, पँधेरा तथा घाँसदाउरा गर्न गएका परिवारका सदस्य एकाएक सम्पर्कविहीन हुँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने हराएका आफन्तले जनाएका छन्।
थबाङ गाउँपालिकाका ७० वर्षीय एक अभिभावकका अनुसार करिब ४ वर्षअघि दाउरा गर्न जंगल गएकी उहाँकी १५ वर्षीया छोरी बाटोबाटै हराइन्। उनी हराएपछि परिवारमा निकै चिन्ता भयो। खोजतलास गरियो, तर उनको पत्ता लागेन, तर दुई सन्तानकी आमा बनेर केही दिनअघि मात्र छोरी सम्पर्कमा आएपछि उनले चिन्ताबाट छुटकारा पाएको बताए।
यसरी हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्नका लागि आफूखुसी हिँड्ने गरेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँल बताउँछन्।
उनका अनुसार बालबालिका पारिवारिक बेमेलका कारण आफूखुसी हिँडेका हुन्छन्। यसरी हिँडेका बालकहरु कोही इँटाभट्टा, कोही होटेल तथा कोही नेपाल बाहिरका विभिन्न स्थानमा रोगजारीका लागि पुग्ने गरेका छन्।
यसरी नागरिकले परिवारको सदस्य तथा आफन्तमा नआउँदा प्रहरीलाई खबर गर्ने तर सम्पर्कमा आइसके पनि जानकारी नदिने भएको हुँदा प्रहरीको तथ्यांकमा हराउनेको संख्या अधिक हुने गरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।