राजविराज- स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय विरुद्ध सप्तरीको तिलाठी–कोइलाडी र बेल्ही–चपेना गाउँपालिकामा विवाद चर्किएको छ।
एक हप्ताअघि गाउँसभाले नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेपछि विवाद सुरु भएको हो। दुवै स्थानीय तहको कार्यालयमा तालाबन्दी गरिएको छ। नाम र केन्द्र परिवर्तन गर्ने/नगर्ने दुवै पक्ष आन्दोलनमा उत्रेका छन्।
तिलाठी–कोइलाडी गाउँसभाले नाम परिवर्तन गरी ‘खाँडो–जिता’ बनाउने र वडा नम्बर १ मा रहेको केन्द्र वडा नम्बर ४, कोइलाडीस्थित जिरिया हाटमा सार्ने निर्णय गरेको छ। निर्णय लगत्तै असन्तुष्ट वडा नम्बर १ का बासिन्दाले स्थानीय तहको कार्यालयमा गत आइतबार तालाबन्दी गरेका छन् भने मंगलबारदेखि अनिश्चितकालीन धर्ना जारी राखेका छन्।
गाउँ परिषद्का निर्णयहरु खारेज, चालु आर्थिक वर्ष २०७४/०७५ को आयव्यय सार्वजनिक, गाउँपालिकाका प्रशासकीय अधिकृत सरोजकुमार झा उपर छानबिन र कारबाहीका लागि उनीहरुले माग गरेका छन्। उपाध्यक्ष सुचिता यादव आन्दोलनको पक्षमा देखिएकी छिन्। उनले अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले सुरुदेखि नै एकलौटीपूर्ण र हेपाहा प्रवृत्ति सुरु गरेको बताइन्। निर्णयको प्रतिलिपि तथा बैंक स्टेटमेन्ट माग्दा पनि नदिएको उनको आरोप छ। बहुमतको दम्भमा भएका निर्णय फिर्ता हुनुपर्ने उनले माग गरेकी छिन्।
गाउँपालिकाका अध्यक्ष सतिश सिंहले गाउँसभाको निर्णयले नै नाम र केन्द्र परिवर्तन गरेको जानकारी दिँदै ८ वटा वडामध्ये ७ वटा वडाको पक्षमा भएको उक्त निर्णय कुनै पनि हिसाबले गलत नभएको दाबी गरेका छन्। अधिकांश गाउँवासीको सुविधालाई ध्यानमा राखी प्रक्रिया अनुसार नै नाम र केन्द्र परिवर्तनको निर्णय गरिएको उनले बताए।
आन्दोलनरत पक्षले भने गाउँसभा नै अवैधानिक भएको आरोप लगाएका छन्। लुकिछिपी सदरमुकाममा गरेको गाउँसभाको निर्णय सम्पूर्ण गाउँपालिकावासीलाई मान्य नहुने आन्दोलनकारीमध्येका देवनारायण यादवले बताए। यादव सीमारक्षाका लागि भारतीय नागरिकसँग लडाइँ गरेर चर्चा कमाएका व्यक्ति हुन्।
वडा नम्बर १ मा अनसन सुरु भएपछि गाउँसभाको निर्णय कार्यान्वयन गर्न माग गर्दै वडा नम्बर २ देखि ८ सम्मका वडा अध्यक्ष र अन्य पदाधिकारीसहित स्थानीयवासीले समेत बुधबार राजविराजमा प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा ज्ञापनपत्र पनि बुझाइएको छ।
गाउँसभाको निर्णय स्वागतयोग्य र अधिकांश गाउँपालिकावासीको हितमा रहेको उनीहरुले बताए।
यसैगरी, गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गरेको विवाद बढ्दै गएपछि बेल्ही–चपेना गाउँपालिकामा तालाबन्दी गरिएको छ। अध्यक्ष परमानन्द यादवले आफ्नो अनुकूल केन्द्र छनोट गरेको बेल्हीचपेना र मलेकपुरका बासिन्दाले आरोप लगाएका छन्।
गाउँसभाले वडा नम्बर–४ मा रहेको केन्द्र वडा नम्बर –३ मा सार्ने निर्णय गरेको छ। निर्णय विरुद्ध जिल्ला अदालत राजविराजमा मुद्दा दर्ता भएको स्थानीवासीले जानकारी दिए।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद २, दफा ४ मा स्थानीय तहको नाम तथा केन्द्र परिवर्तन सम्बन्धी व्यवस्था छ।
दफा ४ को उपदफा ५ अनुसार गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरी एक पटकको लागि गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस बमोजिम नाम वा केन्द्र हेरफेर गर्नुपर्नेछ।
तर, केन्द्रको सिफारिस गर्दा गाउँपालिका तथा नगरपालिकाको केन्द्रको लागि आवश्यक पर्ने जग्गाको क्षेत्रफल, भौतिक पूर्वाधार र अन्य विषयको न्यूनतम मापदण्ड नेपाल सरकारले निर्धारण गरे बमोजिम हुने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।