गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका–५ स्थित सिद्धेश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ।
बिहीबार मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालीकाचौरदेखि सुरु भएको आगो आज बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन। आगलागीका कारणआँपचौरको खर्वाङ गाउँका स्थानीय निकै त्रसित बनेका छन्।
आगो निभाउनका लागि उनीहरुले नेपाली सेना, प्रहरी, सशस्त्र लगायत स्थानीयको सहयोग मागिरहेका छन्। जंगल नजिकै रहेका खरबारीमा खर नकाटेको र अप्ठ्यारो भीर भएका कारण आगो नियन्त्रणमा लिन समस्या परेको स्थानीय अर्जुन अर्यालले बताए।
आगो अहिले आँपचौरको थामडाँडामा पुगेको बताइएको छ। आगलागी भएको स्थानदेखि केही तल सिँगो गाउँ रहेका कारण आगो गाउँनजिकै पुग्ने खतरा देखिएको अर्यालले बताए।
गाउँमाथिबाट आगो तलतल सर्ने क्रम सुरु भएपछि स्थानीयबासी रातभर आगो निभाउने प्रयासमा लागेका थिए। आगलागी भएको वन क्षेत्र नजिकै रहेका ५० भन्दा बढी घरगोठ उच्च जोखिममा परेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।