कोलम्बो– श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशव्यापी रुपमा लगाइएको संकटकालीन अवस्था हटाएका छन्।
गत मार्च ६ तारिखबाट श्रीलंकामा संकटकाल घोषणा गरिएको थियो। राजपत्रमा राष्ट्रपति सिरिसेनाले आज हस्ताक्षर गर्दै संकटकालीन अवस्था हटाएका अधिकारीहरुले जानकारी दिएका छन्।
श्रीलङ्काको मध्य क्षेत्र क्यान्डीमा इस्लाम र बुद्ध धर्मावलम्बीबिचमा उत्पन्न सामान्य तनावबाट सुरु भएको सो घटनाले चर्को रुप लिएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले संकटकाल लगाएको थियो।
राष्ट्रपतिका सचिव अष्टिन फेर्नान्डोले संकटकाल हटाउने राजपत्रमा राष्ट्रपति सिरिसेनाले हस्ताक्षर गरेको पुष्टी गरे।
श्रीलंकामा करिब ३० वर्षदेखि जारी विद्रोही तामिल टाइगर्सको हिंसात्मक विद्रोहको सन् २००९ मा अन्त्य भएपछि यो संकटकालीन अवस्थाको घोषणा पहिलो पटक गरिएको थियो।
हस्ताक्षर गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन् – सार्वजनिक सुरक्षाका लागि हामी गम्भीर छौँ। अहिले अवस्था सुध्रिएको छ। त्यसैले आज मध्यरातीदेखि संकटकाल हटाइएको छ।
यसै महिनाको सुरुमा क्याण्डीमा भएको प्रदर्शनका क्रममा तीन जनाको ज्यान गएको थियो। प्रदर्शन र हिंसात्मक हमलाहरु बढेपछि सरकारले संकटकालीन अवस्थाको घोषणा गरेको थियो।
सो हिंसाका क्रममा सयौं पसल, घर, मन्दिर, मस्जीद लगायतमा ठूलो क्षती पुगेको थियो। प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारी सुरक्षाकर्मीहरुले झण्डै २ सय ८० जनालाई गिरफ्तारसमेत गरेको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।