डडेल्धुरा– महाकाली राष्ट्रिय राजमार्ग सीमाभित्र पर्ने घरटहरा हटाइने भएको छ। सडक सीमाभित्रका घरटहरा सामग्रीहरु हटाउन संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कुलपाते डोटीले १५ दिने सूचना जारी गरेको छ।
डिभिजनले निकालेको सूचनामा स्याउले–बागबजारसम्मको ३ किलोमिटर सडकको दाँया–बायाँ २५/२५ मिटर खाली गर्ने उल्लेख गरेको छ। १५ दिनभित्र यस क्षेत्रका संरचनाहरु नहटाए सार्वजनिक सडक ऐन २०३१ बमोजिम सडक संरक्षणका लागि खाली गरिने भनिएको छ।
स्याउले बागबजार सडक अमरगढी २ को क्षेत्रमा पर्छ। जसका लागि १० करोड बजेट आफनो पहलमा स्वीकृत भएको अमरगढी नगरपालिका नगर प्रमुख विशेश्वरप्रशाद ओझाले बताए। तर चालु आर्थिक वर्षमा स्याउले बागबजार सडक खण्डमा ५ करोडको टेण्डर भएर काम अगाडि बढेको उनले बताए।
यस क्षेत्रमा ८ देखि १० घरटहराहरु पर्ने उनले बताएका छन्। केही दिनभित्रै बागबाजर कीर्तिपुर सडकको पनि टेण्डर हुने प्रक्रियामा रहेकाे नगरपालिले जनाएको छ। यो योजनामा बहुवर्षीय योजनाअन्तर्गत ४४ करोड बजेट पास भएको बताइएको छ।
स्याउले पोखरासम्मको सडक खण्डकै लागि १ खर्ब बढी बजेटको डिपियार तयार गरेर संघीय सरकारले दिएपनि अहिले कीर्तिपुरसम्मको सडक चौडा गर्न बजेट विनियोजित भएको नगर प्रमुख ओझाले बताए। साथै अहिले जथाभावी राष्ट्रिय राजमार्गबाट शाखा सडक खन्ने क्रम बढेपछि सडक डिभिजनले पूर्व स्वकृतीबिना शाखा सडकहरु नखोल्नसमेत अनुरोध गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।