बैतडी- चितुवाले बैतडीको तल्लो स्वराडमा पछिल्ला ८ वर्षमा २५ जनाको ज्यान लिएको छ। मंगलबार बिहान ४ बजे मैलौलीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएपछि यो संख्या २५ पुगेको छ।
जिल्लाको मेलौली नगरपालिका–९ असुरका रामबहादुर लुहारकी ८ वर्षीया छोरी सीताको चितुवाको आक्रमणबाट ज्यान गएको हो। ओछ्यानमा सुतेकै अवस्थामा चितुवाले आक्रमण गरेर लगेको र घरदेखि ५०० मिटरकाे दूरीमा सीताकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायाण पण्डेयले जानकारी दिए।
८ वर्षमा २५ जना मारिए
गत बुधबार राति पनि शिवनाथ गाउँपालिका– ४ खडितका १५ वर्षीय हर्कबहादुर साउदलाई चितुवाले आक्रमण गर्याे। साउदलाई चितुवाले आक्रमण गरेको थाहा पाएर स्थानीयले होहल्ला गरे। स्थानीयहरूले होहल्ला गरेपछि चितुवाले उनलाई घाइते बनाएर छाड्यो।
२०७४ भदौ महिनामा मेलौली नगरपालिका– ९ असुरकी ४० वर्षीया कुन्दादेवी भट्ट बिहान ९ बजेतिर घरनजिकै मकैबारीमा घाँस काटिरहेकी थिइन्। एक्कासि चितुवाले भट्टको नाक र बायाँ हातमा चिथोरेर घाइते बनायो। गत २० भदौकाे साँझमा शिवनाथ गाउँपालिका– २ टाडिखर्कका ७ वर्षीय सुदीप मडैको आँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणबाट ज्यान गयाे। उनी मात्र होइन २०७३ भदौमा चितुवाले आक्रमण गरेर २ बालिकाको ज्यान लिएको थियो।
२०६८ सालयता बैतडीको तल्लो स्वराडमा चितुवाको आक्रमणबाट २५ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन्। पछिल्लो समय फेरि तल्लो स्वराडका केही ठाउँहरूमा नरभक्षी चितुवाको त्रास फैलिएकाे छ। तल्लो स्वराडमा चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय डरले घरभित्रै दिसा पिसाब गर्न बाध्य भएकाे स्थानीय नारायण राम सार्कीले बताए।
चितुवाले यहाँका स्थानीयलाई पटक–पटक आक्रमण गर्ने गरेको भए पनि चितुवालाई कसैले नियन्त्रणमा लिन भने सकेका छैनन्। विगतमा चितुवालाई नियन्त्रणमा लिन हातहतीयारसहितका सुरक्षाकर्मी खटाए पनि नियन्त्रणमा लिन नसकिएको शिवनाथ गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। उनले भने, ‘विगतमा म शिक्षक हुदाँ पनि स्थानीय र हातहतियारसहितको प्रहरी टोली खटेकाे थियो, चितुवा नियन्त्रण बाहिर नै छ।’
बैतडीका हरेक क्षेत्रमा अहिले चितुवाबाट समाधानलगाएतका सचेतनामुलक बोर्डहरु राखिएका छन्। घरकाे आँगनमा खेलिरहेका बच्चा र खेतमा काम गरिरहेकाहरुलाई चितुवाले कुन बेला आक्रमण गर्छ र ज्यान लिन्छ भन्ने चिन्ताले यहाँका स्थानीयलाई पिरोलिरहेको छ। मानिसलाई आक्रमण गर्ने चितुवाले स्थानीले पालेका भेडा–बाख्रासमेत खाने गरेकाे छ।
स्थानीय दीपकबहादुर चन्दले विदेशमा काम गर्नुभन्दा त आफ्नै ठाउँमा केही गरौँ भनेर बाख्रा पालन व्यवसाय गरे। उनले करिब डेढ सय बाख्रा पालेका थिए।५० जति बाख्रा चितुवाले खाएपछि उनले अहिले बाख्रापालन व्यावसाय छाडिसकेका छन्। सरकारले चितुवा नियन्त्रणमा पहल नगरेकाले आफ्नो साँझ-बिहानको छाँक टार्नसमेत समस्या भएको उनको भनाइ छ।
‘सरकारले चितुवा नियन्त्रण गर्न बासस्थान सर्च गर्नुपर्छ। चितुवा नियन्त्रण गर्नसक्ने व्यक्ति ल्याउनुपर्छ,’ उनले भने, ‘चितुवा नियन्त्रण गर्न भनेर आउँछन्। तर, नियन्त्रण गर्न सकेका छैनन्। चितुवा नियन्त्रण गर्ने निहुँमा चियापानी खाएर मात्र हुँदैन।'
चितुवा मार्ने अनुमति दिन माग
२५ जनाको चितुवाले ज्यान लिइसक्दा पनि सरकारले चितुवा नियन्त्रण गर्ने पहल नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन्। चितुवाले धेरैको ज्यान लिएपछि त्रसित नागरिकले चितुवा मार्न पटक–पटक स्थानीय प्रशासनसँग माग गर्दा प्रशासनले प्रहरी परिचालन गरे पनि नियन्त्रण नभएकाे भन्दै स्थानीय आक्रोशित भएका हुन्।
चितुवाले धेरैको कोख रित्याइसकेको छ भने धेरैको सिउँदो मेटाइसकेको छ। चितुवाका कारण आफूहरू त्रासमय वातावरणमा बाँच्न बाध्य भएको पञ्चेस्वर गाउँपालिका–३ का वडा सदस्य कालुसिंह जोशीले बताए। ‘सरकारले चितुवा नियन्त्रण गर्न सकेन। सरकारले सक्दैन भने हामी नियन्त्रण गछौ,’ उनले भने, ‘कि त सरकारले चितुवा मार्नुपर्छ, होइन भने हामीलाई मार्ने अनुमति दिनुपर्छ।’
बेलुकाको खाना दिउँसै
कतिबेला चितुवा आउँछ र आक्रमण गर्छ भन्ने त्रासमा यहाँका स्थानीय छन्। विगत १०/१२ वर्षदेखि नै पञ्चेस्वर, विशालपुर, शिवनाथलगायतका स्थानमा चितुवाको बिगबिगी रहेकाे कुलाउ माध्यमिक विद्यालय कुलाउका शिक्षक नरिदत्त भट्टले बताए।
‘कैयौँ बालबालिकाको चितुवाले ज्यान लिएकोले स्थानीयहरू काम छोड्न बाध्य छन्,’ उनले भने, ‘बेलुकाको खाना पनि चितुवाको डरले दिउँसै खान्छौँ। चितुवा आएर आक्रमण गर्छ कि भनेर कोठा बन्द गरेर सुत्छौँ। तर, सरकारको ध्यान गएको छैन।’
संसदमा चितुवा नियन्त्रणको माग
बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित संघीय सांसद तथा पूर्वअर्थ राज्यमन्त्री दामोदर भण्डारीले तल्सो स्वराड क्षेत्रमा चितुवा आतंकको समस्या रहेकाले त्यस विषयमा आफूले संसदमा पटक–पटक कुरा उठाएको बताए। राष्ट्रपति विद्यादेवी भण्डारी बैतडी आउँदासमेत आफूले चितुवा नियन्त्रणका बारेमा कुरा गरेको उनले बताए।
अहिले आफू कैलालीमा रहेको र काठमाडौं जाने बितिक्कै सम्बन्धित निकायमा यसबारे कुरा राख्ने उनको भनाइ छ। ‘भारतले आफ्नोतिर सडक बाटो, विद्युत्लगायतका संरचनाहरू निर्माण गरेको छ। भारततिर उज्यालो भयो। चितुवा अध्याँरोमा बस्छ,’ उनले भने, ‘नेपालतिर अध्याँरो भएकाले चितुवा नेपालतिर आएको अध्ययनले देखाएको छ। यसको नियन्त्रणका लागि हामी दीर्घकालीन उपाय के हुन सक्छन्? भनेर गम्भीरतापूर्वक राष्ट्रको ध्यान आकर्षण गराइरहेका छौँ।’
के गर्दै छ डिभिजन वन कार्यालय?
डिभिजन वन कार्यालय बैतडीलाई चितुवा नियन्त्रण गर्नका लागि आग्रह गरिसकेको जिल्ला प्रशासन कार्यालले बताएको छ। डिभिजन वन कार्यालयले बर्दिया राष्ट्रिय निकुञ्जलाई पत्राचार गरेको छ।
‘अहिले चितुवाबाट बच्नका लागि डिभिजन वन कार्यालय सचेतनामूलक कार्यक्रम गरिरहेको छ। जिल्लाका सुरक्षासम्बद्ध निकायहरूले त्यस क्षेत्रमा अनुगमन गरेका थिए’, प्रमुख जिल्ला अधिकारी आन्दत पौडेलले भने, ‘पीडितहरूलाई हामीले क्षतिपूर्ति पनि दिएका छौँ। स्थानीयले चितुवा मार्न पाउनुपर्छ भनेका छन्। हामीले मार्न दिनेभन्दा पनि वन कार्यालयले दिने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।