उदयपुर- नेत्र ज्योती संघ उदयपुरले मदन भण्डारी आँखा अस्पताललाई क्वारेन्टाइन बनाउने निर्णय गरेकाे छ। निर्माण सम्पन्न भइसकेपछि सञ्चालनमा आउन नसकेको आँखा अस्पताललाई क्वारेन्टाइन बनाउने निर्णय गरिएको हो।
भवन निर्माणको काम सकिए पनि अस्पताललाई सञ्चालनमा ल्याउन अझै केहि समय लाग्ने भएकाले क्वारेन्टाइनमा प्रयोग गर्ने निर्णय गरिएको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिए। उनले प्रदेश सरकारलाई पत्राचारसमेत गरिसकिएको जानकारी दिए।
भवनको झ्यालमा आल्मुनियम हाल्न मात्र बाँकी रहेको र २ दिनभित्रमा त्यो काम पनि सकिने उनले बताए। उनले त्यसलाई क्वारेन्टाइन वा आइसोलेसन वार्डसमेत बनाउन सकिने बताए। नेत्र ज्योति संघ उदयपुरका सभापतिसमेत रहेका अध्यक्ष राउतका अनुसार तीन तले अस्पतालको भवनमा ४२ वटा कोठा छन्।
आइसोलेसन बनाउने हो भने ५० जनासम्म बिरामी राखेर उपचार गर्न सकिने उनले बताए। ‘यतिबेला सबैको लक्ष्य महामारी अन्त्य गर्नु नै हो, त्यहिँ भएर सञ्चालक समितिले यस्तो निर्णय गरेको हो,' उनले भने, ‘हामीले निर्णय मुख्यमन्त्रीज्यूको कार्यालयमा पुर्याइसकेका छौं, अब यसलाई प्रदेश सरकारले प्रयोग गर्न सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।