डडेल्धुरा- कोरोना भाइरस (कोभिड–१९)का कारण लकडाउन भएपछि भारतकाे गुजरातस्थित राजकोट सहरका विभिन्न हाेटलबाट एक सयभन्दा बढी नेपाली निकालिएका छन्।
तलब नै नदिई होटल मालिकहरुले कामबाट निकालिदिएकाे राजकोटमा रहेका डडेल्धुराका सन्दिप बोगटीले जानकारी दिए। उनका अनुसार अलपत्र परेका मध्ये धेरै भारतमा जनता कर्फ्यू लगाएको अघिल्लो दिन कामबाट निकालिएका हुन्।
कोरोनाको कारण देखाउँदै होटल बन्द गरेर आफूलाई कामबाट निकालेको र तलब पनि नदिएको डडेल्धुराको अमरगढी नगरपालिका ४ सुनेडाका तीर्थबहादुर बिष्टले गुनासो गरे। होटलबाट निकालिएसँगै एक हप्तादेखि खुला ठाउँमा बास भएको उनले बताए।
विभिन्न स्थानमा फरक–फरक समूहमा रहेका उनीहरु खुला ठाउँमा दिनरात काटिरहेका छन्। लकडाउन भएका बेला खुला ठाउँमा देखेपछि प्रहरीले समेत धपाउने गरेकाे छ। 'बाहिर खुला ठाउँमा दिनरात काट्नु पर्ने अवस्था छ, तर त्यहाँ पनि प्रहरीले बस्न दिँदैन्। लखेट्ने गरेको छ,' केशव बिष्टले दुःख पोखे।
तलब नै नदिएपछि किनेर खानलाई गोजीमा पैसा नभएकाे अर्का पीडित धर्म साउँदले बताए। राजकोट सहरका विभिन्न ठाउँमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेको जानकारी दिँदै उनीहरुले उद्धारका लागि नेपालकाे केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारलाई अनुराेध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।