डडेलधुरा–सीमावर्ती क्षेत्र धारचुलाको पुल क्षेत्रमा अलपत्र परेका नेपालीको व्यवस्थापन भारतीय पक्षले गर्ने भएको छ। नेपालमा रहेका भारतीयको नेपालले र भारतमा रहेका नेपालीको भारत सरकारले व्यवस्था गर्ने सहमतिअनुसार धारचुला क्षेत्रमा रहेका करिब ५ सय नेपालीलाई भारतीय पक्षले क्वारेन्टाइनमा राख्ने भएको हो।
धारचुला क्षेत्रका उपजिल्ला अधिकारी अनिलकुमार सुक्लाले धारचुला क्षेत्रमा चार ठाउँ र जौलजिबीमा एक ठाउँ गरी नेपालीलाई पाँच ठाउँमा क्वारेन्टाईनमा राखिएको बताए। नेपाल सरकारका प्रतिनिधिलाई पटक–पटक नेपालीलाई आफ्नो देश लैजान आग्रह गर्दा पनि नसुनेपछि भारतमै व्यवस्थापन गरिएको उनले बताए।
यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने, ‘लकडाउन भनेको जो जहाँ छ, त्यही बस्ने हो। नागरिकले लकडाउनको अर्थ नबुझेर वा पुल खुल्दै छ भन्ने हल्लाका पछाडि लागेर धारचुलामा जम्मा भएका हुन्।’
भारतीय क्षेत्रमा मजदुरी गर्न गएका नेपालीले पनि जहाँ छ त्यही बस्नु पर्ने र उनीहरूको व्यवस्था भारत सरकारले गर्ने पौडेलले बताए। यस्तै सोमबार दिउँसो बैतडी डिलाशैनीका इन्द्रसिह खाती र धनबहादुर धामी तथा दार्चुला मार्मा गाउँपालिका ३ का रमेश बिस्ट महाकाली तरेर दार्चुला प्रवेश गरेका थिए। उनीहरूलाई सम्बन्धित पालिकाको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।