डडेल्धुरा- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि ज्यानै जोखिममा राखेर स्वास्थ्यकर्मी खटिरहेका बेला डडेल्धुरा अस्पतालका एक कर्मचारी भने ड्युटीकै समयमा मादक पदार्थ सेवन गरी लठ्ठ अवस्थामा भेटिएका छन्। दिनहुँ जसो मादक पदार्थ सेवन गरेर अस्पताल जाने सिनियर अहेब दिलिपसिंह साउदलाई प्रहरीले तेस्रो पटक नियन्त्रणमा लिएको छ।
केही महिना पहिले भेरी अस्पताल नेपालगञ्जबाट सरुवा भई डडेल्धुरा अस्पताल आएका उनले सुरुवाती दिनदेखि नै राम्रोसंग काम नगरेका बिरामीहरूको गुनासो बढदै गएको थियो। मंगलबार मात्रै तेस्रो पटक उनलाई नियन्त्रणमा लिएर थुनामा राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।
‘हामीले नियन्त्रणमा लिएर थुनामा राखेका छौं, उनीलाई कारबाहीका लागि अस्पताल प्रशासनले निर्णय लिन्छ होला,’ उनले भने। अस्पतालको मौखिक उजुरीका आधारमा नियन्त्रणमा लिएको उनले बताएका छन्। अस्पतालले लिखित उजुरी दिए आवश्यक कारबाही हुने डिएसपी न्यौपानेले बताए।
अस्पताल स्रोतका अनुसार साउद दैनिकजसो मादक पदार्थ सेवन गरेर अस्पतालमा होहल्ला गर्ने गर्दछन्। ‘डडेल्धुरा अस्पतालको इर्मेजेन्सी वार्डमा काम गर्ने उनले बिरामी मात्र होइन, अस्पताल प्रशासनलाई समेत हैरान पारेका छन्,’ स्रोतको भनाइ छ। केही समय अघि मात्रै सरुवा भएर डडेल्धुरा आएका अहेब साउँदलाई प्रहरीले तीन पटक थुनामा राखिसकेको छ।
डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जगदीश विष्टले ९ बजे प्रहरीले नियन्त्रणमा लिएर किन समातेको हो जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले भने, '९ बजे सडकबाटै प्रहरीले पक्राउ गरेको छ किन गरेको हो भने थाहा छैन। केही अनैतिक काम गरेको होला। हामी छलफल गर्दैछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।