धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका- ५ की कोरोना संक्रमित महिलाको छैटाैं रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ। २८ दिनदेखि सेती अस्पताल धनगढीमा उपचाररत ३४ वर्षीया महिलाको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
चैत २२ गते कोरोना पुष्टि भएपछि संक्रमित महिलाको ६ पटकसम्म परीक्षण भइसकेको र सबै रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। चिकित्सकहरुको सल्लाहअनुसार उनको थ्रोट स्वाब फेरि संकलन गरी परीक्षण गरिनेछ।
उनीसँगै भर्ना भएका दुईजना, त्यसअगाडि भर्ना भएका एकजना र उनीभन्दा पछाडि भर्ना भएका एक जना गरी चारजना कोरोना संक्रमित भने निकाे भएर सेती अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्बर १ की महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भइसकेका हुन्।
अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसमा उनको मात्रै उपचार भइरहेको छ। कोरोनाको रिपोर्ट पोजेटिभ देखिए पनि उनको स्वास्थ्य सामान्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।