डडेल्धुरा- सुदूरपश्चिममा पहिलो पटक कोरोना भाईरसबाट एक बालिकाको मृत्यु भएको छ। बाजुराको बूढीगंगा नगरपालिका-१ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको हो।
भारतबाट फर्किएर जिल्ला अस्पताल आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक गुणराज अवस्थीले बताए। उनका अनुसार धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा परीक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको हो।
यस्तै मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना देखिएको छ। संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। बुवाको रिर्पोट भने नेगेटिभ आएको छ।
मृतक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो। तिनै जनाको स्वाब धनगढी पठाइएको थियो। ८ दिन अगाडि उनको परिवार भारत बाट आएका थिए।
भारतबाट आएपछि सबैलाई बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।
सुदूरपश्चिमका थप ५ जनामा कोरोना
सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदुरपश्चिमका थप पाँच जनामा कोरोना पुष्टि भएको हो।
बाजुराको बूढीगंगा नगरपालिका १ की दुई वर्षीया मृतक बालिका र उनकी २३ वर्षीया आमा, कैलालीको धनगढी उप–महानगरपालिका ३ का ४७ वर्षीय पुरुष, कैलालीकै भजनी नगरपालिका ७ का २३ वर्षीय युवक र जानकी गाउँपालिका ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानालय डोटीले जनाएको छ।
यसअघि यहाँका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा बाजुराका एक पुरुषमा कोरोना पुष्टि भएको थियो। आइतबार थप पाँच जनामा पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।
सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी युएईको दुबईबाट फर्किएका थिए। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।
धनगढी उप–महानगरपालिका ५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। लम्कीका २१ वर्षीय युवक भारतबाट फर्किएका थिए।
वैशाख १ गते लम्कीचुहा नगरपालिका १ की ६५ वर्षीया वृद्धामा पनि कोरोना पुष्टि भएको थियो। उनी वीरगञ्जबाट कैलाली आएकी थिइन्। वैशाख १ गतेसम्म पुष्टि भएका पाँचै जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन्। त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ बिरामी फेला परेका थिएनन्।
जेठ ९ गते एकै दिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।
कैलालीका तीनजना संक्रमितमध्ये एकजना भारतबाट लुकिछिपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए।
अन्य तीनजनाको भने आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्यसपछि १० जेठमा यहाँका बैतडीका चारजनामा कोरोना पुष्टि भएको थियो। शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको थियो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए।
जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भयो। उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए। १३ गते मात्रै कैलालीको जानकी गाउँपालिकाका ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीय बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको थियो।
अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिइन्। कैलालीका संक्रमित पनि भारतबाट आएका थिए। १५ जेठमा कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका ५ का २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।
सुदूरपश्चिममा सुरुवातका ५ जना संक्रमित पनि कोरोना जितेर घर फर्किसकेका छन्। कोभिड–१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने अर्का एक कञ्चनपुरका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।