डडेल्धुरा–ह्युमिनिटी फाउन्डेसन नेपालले खरिद गरेको कोरोना परीक्षण गर्ने पिसीआर मेसिन डडेल्धुरा ल्याइने भएको छ । शुक्रबार काठमाडौंबाट ट्रकमा राखेर पठाइएको मेसिन सोमबारमात्र डडेल्धुरा आइपुग्ने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणकर ओझाले बताए। उनले भने, ‘हिजो काठमाडौंबाट पठाएको हो, पहिरोले रोकियो। आज राति धनगढी आइपुग्छ। भोलि आइतबार डडेल्धुरा पुगे पनि औपचारिक रुपममा हामीलाई सोमबार हस्तान्तरण गर्ने संस्थाको सोच छ।’
फाउन्डेसनले सुदूरपश्चिम प्रदेश तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, बुद्धिजीवी लगायतका दाताहरुबाट संकलन गरिएको रकमले मेसिन खरिद गरेको हो।
फाउन्डेसनका अध्यक्ष श्याम तायलले शुक्रबार साँझ मेसिन लिएर ट्रक काठमाडौँबाट हिडेकाले सकभर शनिबार बेलुकासम्म सुदूरपश्चिम आइपुग्ने बताए। उनले पिसीआर मेसिन खरिदमा फाउन्डेसनले अगुवाई गरे पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सहजीकरण एवं समन्वय गरेको जानकारी दिए।
उनका अनुसार उक्त पीसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिनेछ। अस्पतालले नै मेसिन जडान तथा सञ्चालन गर्नेछ। यसैबीच डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिशचन्द्र विष्टले ह्युमिनिटी फाउन्डेसनले हस्तान्तरण गर्ने पिसीआर मेसिन जडान गरी कोरोना परीक्षण गर्ने तयारी थालिएको जानकारी दिए।
विष्टले तत्कालका अस्पतालमा भएको संरचनामै सञ्चालनमा ल्याउने तयारी भईरहेकाले डडेल्धुरा पुगेको एक हप्ताभित्र मेसिन जडानको काम सकेर परीक्षण थालिने बताए। उनले अहिले अस्पतालमा उपलब्ध जनशक्तिबाट प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन गरिने भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग थप जनशक्ति माग गरिएको बताए।
अस्पतालमा अस्थायी प्रयोगशाला निमार्णको काम अन्तिम चरणमा पुगेको डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुसालले बताए। उनले मेसिन जडानमा कम्तीमा ७ दिन लाग्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।