विराटनगर–कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ।
आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव पेश गरेका थिए। उनले गरेको प्रस्ताव ध्वनि मतका आधारमा बहुमतले पारित गरिएको हो।
नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रदेश सांसदले उठाएका प्रश्नका विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिएका थिए।
उनले प्रदेश सरकारले दीर्घकालीन हितलाई समेटेर नीति तथा कार्यक्रम तयार गरेको बताएका थिए। नीति तथा कार्यक्रममाथि ४६ जना प्रदेशसभा सदस्यले आफ्नो धारणासहित सुझाव दिएका थिए।
मुख्यमन्त्री कार्कीले अहिलेको नीति कार्यक्रमले प्रदेशमा आर्थिक उन्नति र आन्तरिक आय बढाउन जोड दिएको उल्लेख गरे।
नीति कार्यक्रमले दोस्रो आवधिक योजनाको लक्ष्य र प्रदेश सरकारले लिएको दीर्घकालीन लक्ष्यलाई समेत समेटेको उनले बताए।
मुख्यमन्त्री कार्कीले भने, ‘कुनै व्यक्तिले, संस्थाले वा दलले सरकारले अघि सारेका राम्रा योजनाको समर्थन गर्नु भनेको सरकारको नेतृत्व गरिरहेका व्यक्तिहरू बन्ने चाहना देखाउनु होइन। यो सामान्य प्रक्रिया हो।’
उनले नीति तथा कार्यक्रममा राष्ट्रिय विभूति, पूर्वराष्ट«ाध्यक्ष तथा आन्दोलनका शहीदहरुको घर संरक्षण गर्ने र यसलाई प्रदेश सरकारको मातहतमा ल्याउने कुराको विरोध गर्नसमेत आवश्यक नभएको बताए। इतिहासको संरक्षण गर्दै भावी पुस्तालाई जानकारी दिन पनि ती संरचनाको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।