काठमाडौं– पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजायबाट सहुलियत दिने न्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
‘नागरिक आवाज’ का नाममा प्रदर्शन गरिएको हो। उक्त समूहले सामाजिक सञ्जालमा सूचना जारी गर्दै भनेको थियो, ‘सर्वस्वसहित जन्मकैद भुक्तान गरिरहेका रञ्जन कोइरालालाई उन्मुक्तिको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाऊ।’
कोइरालालाई दिइएको सजाय सहुलियतप्रति सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया उत्पन्न भएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सो मुद्दामा फैसला गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई महाअभियोग लगाउन माग गरेका छन्। यस्तो माग गर्नेहरुमा पूर्वप्रधानमन्त्री र सांसदलगायत सत्तारुढ र विपक्षी पार्टीका नेताहरु समेत छन्।
२०६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। उसले हत्याबाट नै श्रीमती गीता ढकालको मृत्यु भएको ठहर गरेको थियो। पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो।
जेल सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गर्दै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो। जसकारण, कोइराला बिहीबार कारागारबाट घर फर्केका छन्।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।