प्रतीकात्मक तस्बिर काठमाडौं- विश्वभर नै अहिले कार बजार निरासाजनक रहेको छ। लकडाउनका कारण ठप्प प्रायः रहेको सवारी बजारले लय लिन थालेको छ। भारतमा सोरुम खुलेर चहलपहल हुन थालेको २ महिनामा कम्पनीहरुको कार बिक्री अघिल्लो वर्षको जुलाईकै सरह बिक्री भएको तथ्यांक आएको छ।
नेपाली बजारमा भने दुईपांग्रे सवारीको बिक्री अघिल्लो वर्षको जति नै पुगे पनि कारको बिक्री भने लयमा फर्कन सकेको छैन। नेपालमा २०७५/७६ मा १६ हजार ५ सय ७६ वटा कार–जिप–भ्यान दर्ता भएको थियो। लकडाउनका कार आव २०७६/७७ मा कार जिप भ्यानको दर्ता घटेर १० हजार ६ सय ७३ वटामात्र दर्ता भएको तथ्यांक बागमती प्रदेशस्थित एकान्तकुना कार्यालयले दिएको छ।
२०७६ को बैशाख र जेठमा बागमती प्रदेशमा २ हजार ८२ वटा कार दर्ता भएको थियो भने पूर्ण लकडाउन भएको २०७७ को बैशाख र जेठमा बागमती प्रदेशस्थिति एकान्तकुना कार्यालयमा एउटै पनि कार जिप-भ्यान दर्ता भएनन्। लकडाउन खुकुलो भएपछिको असारमा उक्त कार्यालयमा ८ सय ६८ वटा कार-जिप भ्यान दर्ता भएका थियो।
नेपाली बजारमा कार बिक्रीले लय लिन लामो समय लाग्ने व्यवसायीहरुको भनाइ छ। लकडाउनले थलिएको अर्थतन्त्र र सरकारले सवारी कर्जामा गरेको कडाइका कारण कार बिक्री बढ्न नसक्ने उनीहरु बताउँछन्।
यता भारतमा भने कार उत्पादन गर्ने ४ कम्पनीले सन् २०१९ को जुलाईको तुलनामा यो वर्षको जुलाईमा बिक्री बढाएका छन्। यसरी बिक्री बढाउनेमा मारुती सुजुकी, टाटा, रेनो र एमजी कम्पनी हुन्।
भारतमा सन् २०१९ को जुलाईमा कुल १ लाख ९९ हजार ५ सय ३४ वटा प्यासेन्जर कार बिक्री भएको थियो भने २०२० जुलाईमा १ लाख ९७ हजार ५ सय २३ वटा कार बिक्री भएको हो। यसले कोरोना संकटपछि अटोमोबाइल व्यवसाय लयमा फर्किएको अनुमान उत्पादकहरुले गर्न थालेका छन्।
जुलाईमा मारुती सुजुकीले ९७ हजार ७ सय ६८ वटा कार बिक्री गरेको छ। यो अघिल्लो वर्षको जुलाईको तुलनामा १.३ प्रतिशतले बढी हो। मारुतीको अल्टो र एस–प्रेसो सबैभन्दा बढी बिक्री भएको तथ्यांक उत्पादकहरुको संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल्स म्यानुफ्याक्चरर्सले सार्वजनिक गरेको छ।
२०२० जुलाईमा हुन्डाईको बिक्रीमा २.१ प्रतिशत गिरावट आएकाे छ। यस्तै टाटा मोटर्सको बिक्री ४३.१ प्रतिशत वृद्धि भएकाे छ। महिन्द्राको बिक्री ३४.५ प्रतिशत गिरावट छ भने रेनो बिक्री ७५.५ प्रतिशत बढी छ। यसैगरी टोयोटाको ४८.३ प्रतिशत गिरावट र होन्डाको बिक्री ४७.५ प्रतिशत गिरावट भएकाे छ। फोर्डको बिक्री ३७.३ प्रतिशतले गिरावट भएकाे छ भने एमजीको बिक्री ३९.६ प्रतिशत बढेको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।