काठमाडौं- नयाँ ब्रान्डको इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको सोरुम सञ्चालनमा आएको छ। गत वर्षको नाडा अटो शोमा पहिलोपटक सोकेश गरिएको जिनियस ब्रान्डका मोटरसाइकल सोरुममार्फत औपचारिक रुपमा बिक्री सुरु भएको हो।
योम मा ईमोटर्स प्रालिले जिनियस ब्रान्डको मोटरसाइकल र टेल्जी ब्रान्डका स्कुटर आयात गरेर बिक्री सुरु गरेको हो। यी दुवै ब्रान्ड इलेक्ट्रिक सवारी हुन्। कम्पनीले नक्साल नारायणचौरमा स्थापना गरेको सोरुममा शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महावीर पुनले संयुक्त रुपमा उद्घाटन गरे।
कम्पनीले टेल्जी ब्राण्डका लायन र टाइगर गरी दुई स्कुटर सार्वजनिक गरेको छ। दुवै स्कुटरमा अधिकांश विशेषता समान खालका रहेको कम्पनीले जनाएको छ। टेल्जी लायनमा २.५ किलोवाटको मोटर र १.९ किलोवाट आवरको ब्याट्री प्याक छ। यो स्कुटरमा एक पटकको फुल चार्जमा ८५ किलोमिटर यात्रा गर्न सकिने लायनमा ६० भोल्ट ३२ एम्पियर ब्याट्री छ।
यस्तै टेल्जी टाइगरमा २.५ किलोवाटको मोटर र २.३ किलोवाट आवरको ब्याट्री प्याक छ, जुन ७२ भोल्ट ३२ एम्पियर हो। यो स्कुटर एक पटकको फुल चार्जमा ९५ किलोमिटर गुड्ने दाबी कम्पनीको छ।
टेल्जीका इलेक्ट्रिक स्कुटर संयुक्त राष्ट्रसंघ इनभारोमेन्ट इ–मोबिलिटी प्रोग्रामको साझेदारसमेत हो। दुवै स्कुटरको मूल्य समान १ लाख ८३ हजार रुपैयाँ तोकिएको योम मा ईमोटर्सले जनाएको छ। यी दुवै स्कुटरमा किलेस स्टार्ट, डिस्क ब्रेक सिस्टम, टिएफटी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायरलगायत विशेषता छन्।
मोटर्सले जिनियसका दुई मोटरसाइकल पनि सार्वजनिक गरेको छ। जिनियस एक्स ४६ नेकेड र जिनियस एक्सवाइ ४६ स्पोर्टस मोटरसाइकल बिक्रीका लागि ल्याइएको छ। मोटरसाइकलमा ७२ भोल्ट ६० एम्पीयर ब्याट्री र ४ हजार वाटको मोटर जडान गरिएको छ। यो ब्याट्रीलाई सामान्य घरको बिजुलीमा फुल चार्ज गर्न साढे ३ घन्टा लाग्छ भने फुल चार्जमा सय किलोमिटर कुदाउन सकिने कम्पनीले जनाएको छ। दुवै मोटरसाइकलमा समान विशेषता फ्रन्टमा डबल टिस्क, चेन ड्राइभ, एलइडी लाइट्स, हिल असिस्ट सेन्सर, टीएफटी डिस्प्ले, मोवाइल होल्डर उपलब्ध छ।
कम्पनीले जिनियस एक्स ४६ को मूल्य ४ लाख २६ हजार र जिनियस एक्सवाइ ४६ को मूल्य ४ लाख १६ हजार रुपैयाँ तोकेको छ। कम्पनीले मोटरसाइकल तथा स्कुटरमा २ वर्षको वारेन्टी दिएको खरिदकर्ताका लागि मासिक किस्ता सुविधा दिने योम मा ईमोटर्सका सञ्चालक सञ्जीव शिल्पकारले जनकारी दिए।
‘सहरी यात्राका लागि स्कुटर र स्पोर्टी मोटरसाइकल खोज्नेहरुका लागि लुक्स र पावरको कम्बिनेसनसहितका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल ल्याएका छौं,’ शिल्पकारले भने, ‘दुईपांग्रे इलेक्ट्रिक सवारी वातावरण मैत्री त छ नै युवाहरुको रोजाइ अनुसार पनि छ।’ कम्पनीले उपभोक्ताको चाहना र आवश्यकता अनुसार नयाँ मोडलका स्कुटर तथा मोटरसाइकल ल्याउने उनको भनाइ छ।
नेपाली बजारमा उपलब्ध प्रतिस्पर्धी ब्रान्डको तुलनामा टेल्जीका स्कुटर र जिनियसका मोटरसाइकल सबै हिसाबले उत्कृष्ट भएकाले उपभोक्ताको रोजाइमा पर्ने शिल्पकारले बताए। ‘यी दुवै ब्रान्डले आफैभित्र प्रतिस्पर्धा गरेर उभोक्ताको मन जित्ने हाम्रो लक्ष्य हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।