प्रतीकात्मक तस्बिर काठमाडौं- कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न गरिएको लकडाउनपछि सञ्चालित ५० प्रतिशत सार्वजनिक बसले मापदण्ड पालना नगरेको पाइएको छ। स्वास्थ्य आनुसन्धान परिषद्ले गरेको एक अध्ययनले उपत्यकामा सञ्चालित आधाभन्दा बढी सार्वजनिक यात्रुबाहक बसले स्वास्थ्य मापदण्ड पुरान नगरेको पाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले उपत्यकामा सञ्चाललित सार्वजनिक यात्रुबाहक सवारीसाधनमा गरेको अध्ययनले यस्तो देखाएको हो। परिषद्ले ३० वटा सार्वजनिक यातायातमा अवलोकन गर्दा ५० प्रतिशतभन्दा कम यातायातमामात्र एउटा सिटमा १ जनामात्र बस्ने व्यवस्था मिलाएको र एक सिट छोडेर अर्को सिटमा मात्र यात्रु बस्ने नियम पालना भएको थियो र स्यानिटाइजरको व्यवस्था थियो।
मपदण्डमा भने कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने व्यवस्था गरिएको छ। तर, मापदण्ड पालना भए/नभएको अनुगमनसमेत प्रभावकारी हुन सकेको छैन। यातायात व्यवस्था विभागले भने अनुगमनलाई निरन्तरता दिएको दाबी गर्दै आएको छ।
‘हामीले हाम्रोतर्फबाट नियमित रुपमा अनुगमन गरिरहेका छौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘जहाँ-जहाँ सार्वजनिक यात्रुबाहक सवारी चलेका छन्, त्यहाँ अनुगमनको लागि सम्बन्धित निकायलाई समेत भनेका छौं।’ भाडा संकलन गर्दा सकेसम्म नगदरहित भुक्तानीको व्यवस्था गर्न भनिएको थियो। तर, कुनै पनि सवारीसाधनले भाडा असुलीमा वैकल्पिक व्यवस्था गरेका छैनन्।
यस्तो छ व्यवसायी, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र विभागले तयार गरेको मापदण्ड
जनचेतना अभिवृद्धिः यात्रु वर्ग वा सेवामा संलग्न कर्मचारीहरुका लागि कोभिड–१९ प्रकोपको जोखिमसम्बन्धी आधारभूत ज्ञान तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मास्क लगाउने, हात स्यानिटाइजर वा साबुन पानीले धुने, जताततै नछुने र नथुक्ने, सामाजिक दूरीसम्बन्धी, भाडा तिर्नका लागि गरिएको व्यवस्था, बस बिसौनीमा पर्खने र ओर्लने तरिका निश्चित गरिने।
यात्रु सिटको सरसफाइ तथा निर्मालीकरणः यात्रुले एकपटक सवारी साधन प्रयोग गरेपछि सिट सरसफाइ
सामाजिक दूरी: यात्रु–यात्रुबीचको सामाजिक दूरी कायम गर्नका लागि यात्रुबाहक सवारी साधनको क्षमता अनुसार अधिकतम यात्रु संख्या निर्धारण गर्ने र ले–आउट सोहीअनुरुप बनाउने।
यातायात सञ्चालनको समय तालिकाः सवारी साधनहरुको सञ्चालनपूर्व सिट निर्धारण र समय तालिका तयार गरी बस स्टपहरुमा राख्ने।
यातायात सेवामा कार्यरत कर्मचारीको स्वास्थ्यको नियमित परीक्षणः प्रत्येक खेप सुरु हुने बेलामा वा दिनमा कम्तिमा दुईपटक निजको शरीरको तापक्रम मापन गर्नका लागि प्रत्येक बसमा थर्मल गनको व्यवस्था गर्ने।
यात्रुहरुका लागि स्यानिटाइजर उपलब्ध गराउने: सह–चालक वा यातायात सेवाका अन्य कर्मचारीले सवारीमा प्रवेश गर्ने बेलामा दुवै हातमा स्यानिटाइजर लगाएर सफा गर्ने व्यवस्था मिलाउने।
भाडा असुलीका लागि वैकल्पिक उपाय अवलम्बन गर्ने: सकभर भाडा भुक्तानीका लागि मोबाइल बेस्ड स्क्यान एन्ड पे वा कन्ट्याक्टलेस कार्ड, अनलाइन तथा इलेक्ट्रिोनिक भुक्तानी, भाडा भुक्तानीका लागि यात्रुहरुले टिकट काउन्टरबाट एकपटक वा धेरै पटक वा कुनै अवधिका लागि मान्य हुने टिकट किन्न सक्ने व्यवस्था गर्ने।
सकभर भाडा असुलीमा प्रत्यक्ष नगदको प्रयोग नगर्ने।
सवारी साधनभित्र फोहर फाल्न छोप्न मिल्ने खालको डस्टबिन राख्ने र प्रत्यक खेपपछि त्यसको सफाइ गर्ने।
चालक कक्ष र यात्रु कक्षलाई उपयुक्त खालको प्लाइ बोर्ड वा ग्लास वा फाइबर बोर्ड वा बाक्लो खालको प्लास्टिक सिटद्वारा छुट्याउने।
सवारी साधनभित्र कोभिड–१९ सम्बन्धी सावधानीका सन्देश तथा सतर्कतासम्बन्धी जनचेतनामूलक सामग्री तयार गरि टाँस्ने।
सवारी चालक, सहचालक वा व्यवस्थापकमा शंकास्पद कोभिड–१९ को लक्षण देखिएमा सम्बन्धित निकायमा सूचना दिने र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने।
सवारी चालक र सहचालकका लागि मास्क, ग्लोब, भाइजर र स्यानिटाइजर उपलब्ध गराउने। बस टर्मिनलरबस बिसौनीमा साबुन पानी र स्यानिटाइजर राख्ने र कोभिड–१९ सम्बन्धी जनचेतनामूलक सामग्री राख्ने।अनुगमनमा खटिने ट्राफिक प्रहरी वा कर्मचारीलाई मास्क, स्यानिटाइजर, ग्लोब, भाइजर उपलब्ध गराउने।
कुनै यात्रुमा कोभिड–१९ को संकास्पद लक्षण देखिएमा सम्बन्धित निकायमा खबर गर्ने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।