काठमाडौं- यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेट जडान गर्न सबै मन्त्रालयहरुलाई परिपत्र गरेको छ। सर्वोच्चमा मुद्दा परेर लामो समयदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान मुद्दा फैसला भएको केही समयपछि विभागले साउन १ देखि दरखास्त मागेको थियो।
साउन १० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण सुरु गरेका थिए। त्यसको भोलिपल्ट अर्थात् साउन ११ मा विभागले २० वटा मन्त्रालयलाई सम्बोधन गरेर हाइ सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेट जडान गर्न परिपत्र गरेको हो। साउन ९ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार आगामी कार्तिकभित्र सबै मन्त्रालयमातहत रहेका सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न भनिएको हो।
मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेट रुपका रुपमा इम्बोस्ड प्लेट देशभरका सबै सवारीसाधनमा राख्ने योजनाअनुसार सरकारको तर्फबाट यो प्रक्रिया अघि बढेको उद्घाटनका क्रममा बताएका थिए। सुरुवातमा कानुनी कारण समस्या रहेपनि अहिले यो कार्यान्वयनमा आएको उनको भनाइ थियो।
दुईपांग्रे सवारी साधनका लागि गुर्जुधारास्थित मोटरसाइकल कार्यालय, तीन पांग्रे साना तथा मझौला चारपांग्रे सवारी साधनको नम्बर लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्ने व्यवस्था मिलाइएको विभागको भनाइ छ। त्यस्तै ठूला सवारीसाधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नम्बर प्लेटका लागि विभागमा जानुपर्ने छ।

सवारीधनीले सो नम्बरप्लेटका लागि तोकिएको बैंकमा राजस्व बुझाउनुपर्ने विभागले जनाएको छ। इम्बोस्ड नम्बर प्लेटका लागि दुईपांग्रे सवारीसाधनका लागि २ हजार ५ सय, चारपांग्रे साना तथा मझौला सवारीका लागि ३ हजार २ सय र ठूला सवारीका लागि ३ हजार ६ सय रुपैयाँ मूल्य तोकिएको छ।
सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटबापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा बुझाउनु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।