काठमाडौं- श्रीमा डिस्ट्रिब्युटर्सले आयात गरेका दुईवटा टेस्ला गाडी फेरि भन्सारमा अड्किएका छन्। श्रीमाले आयात गरेका टेस्लाका विद्युतीय कार पर्सास्थित सुख्खा बन्दरगाह भन्सारमा एक महिनादेखि रोकिएका हुन्।
भन्सारमा गाडी आएको एक महिना भइसक्दा पनि आयातकर्ताका प्रतिनिधि सम्पर्कमा नआएको भन्सारका एक अधिकारीले पुष्टि गरे। 'गाडी आएको करिब एक महिना भएको छ, आयातकर्ता वा उनीहरूका एजेन्ट यहाँ आएका छैनन्,' भन्सारका एक कर्मचारीले भने।
आधिकारिक आयातकर्ता विना नै टेस्लाका गाडी नेपाल भित्रिरहेका छन्। यसअघि पनि श्रीमाले नै टेस्लाका दुई गाडी छुटाएको थियो। भन्सारको पत्र विपरित दर्ता भएका गाडीको दर्ता खारेजसमेत भैसकेको छ।
सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमा आधिकारिक आयातकर्ता विना आयात भएका गाडी नेपाल भित्र्याउन चाहेमा ३० प्रतिशत जरिवाना तिरेर छुटाउन सक्ने व्यवस्था गरेको छ। श्रीमाले ती गाडी छुटा भन्सार, अन्त:शुल्क, मूल्य अभिवृद्धि कर र सडक दस्तुरबाहेक थप ३० प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ।
श्रीमाबाहेक वेएस्टर ग्यालेक्सी प्रालिले आयात गरेको अर्को एउटा टेस्ला गाडी ७ महिनायता भन्सारमै अड्किएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।