डडेल्धुरा- वर्षाका कारण ग्रामीण सडक बिग्रँदा जोखिम मोलेर यातायातका सवारीसाधन सञ्चालन भइरहेका छन्। लगातारको वर्षाले सडक बिग्रिएकाले जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा बाटो बिग्रँदा यात्रुहरु पैदलै हिड्न बाध्या छन्।
सडकको स्तरोउन्नति गर्नुभन्दा पनि नयाँ सडक निर्माणलाई प्राथमिकता दिने गरेकाले जिल्लाका अधिकांस सडक वर्षामा जोखिमपूर्ण बन्छन्।
खाल्टाखुल्टी परेका हिलाम्य सडक भएकाले कहिलेकाहीँ मानिसले पनि गाडी पनि तान्ने गरेका छन्।
डडेल्धुराको बागबजार-बगरकोट सडक, बगरकोट-रुपाल सडक, बगरकोट-भागेश्वर सडक, ढिमौला-भद्रपुर सडक, अनारखोली-देवल, पोखरा-बेलापुर, रडुवा-बडाल सडकलगायतका करिब एक दर्जन ग्रामीण सडक जोखिमपूर्ण छन् भने एक दर्जन सडक अवरुद्ध छन्।
केही सडकमा जोखिम मोलेर यातायात सञ्चालन भइरहेको एक चालक सीताराम बोहराले बताए। ‘कहिले गाडीबिच बाटोमा नै छोड्नुपर्छ। कहिले गन्तव्यमा पुगिन्छ, यात्रु धक्का लगाउँछन् अनि गाडी गुड्छ।’
ठाउँठाउँमा सडक बिग्रिएकै कारण जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायातका सवारी साधनको संख्यामा पनि कमी आएको छ। जिल्लामा निर्माण गरिएका अधिकांस ग्रामीण सडक मापदण्डविपरीत निर्माण हुने गरेकाले पनि हल्का वर्षासँगै बिग्रने गरेका छन्। नवदुर्गा गाउँपालिका-१ का स्थानीय दीपक ऐरले भने, ‘जताततै सडक काट्छन् एउटा पनि वर्षातमा सञ्चालन गर्न गाह्रो हुन्छ।’
एउटा गाउँपालिका जोड्ने १६ सडकखण्ड छन् तर एउटा सडकबाट पनि गाउँपालिका पुग्न हिँड्नु परेका गन्यापधुरा गाउँपालिका स्थानीय मोहन मल्लको गुनासो छ।
निर्माणधीन सडकको स्तरोन्नति गर्नुभन्दा नयाँ सडक निर्माण गर्ने प्रवृतिका कारण वर्षातका समयमा जिल्लाका ग्रामीण सडक जोखिम पूर्ण हुने गरेका छन्। ग्रामीण सडकमा पर्याप्त यातायातका सवारी साधन संचालन नहुँदा ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारीलगायतका कृषिजन्य उत्पादन बजारसम्म ल्याउन नसक्दा किसान मार्कामा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।