काठमाडौं- टिभिएसको अपाचे आरटीआर २०० फोर भीको एबिएस र स्मार्ट कनेक्ट विशेषतासहितको नयाँ मोडल सार्वजनिक भएको छ। सोमबार राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले उक्त मोटरसाइकल सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जालमा लाइभ कार्यक्रम गरी आरटीआर २०० फोर भीको स्मार्ट कनेक्ट भर्सन सार्वजनिक गरिएको थियो। टिभिएसको नेपालका लागि आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले ल्याएको नयाँ मोटरसाइकलले युवालाई आकर्षित गर्ने अनुमान गरिएको छ।
नयाँ एबिएस र कनेक्ट विशेषतासहितको आरटिआर २०० फोर भीको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। पुरानो आरटिआर २०० फोर भीको तुलनमा नयाँ भर्सनमा एलइडी हेडल्याम्प, एबिएस र स्मार्ट कनेक्ट विशेषता थप गरी मोटरसाइकललाई आकर्षित समेत बनाइएको दाबी कम्पनीको छ।

टिभिएस आरटिआर २०० फोर भीका चालकले आफ्नो मोबाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्नेछन्। यसमा एलसिडी डिस्प्ले प्रयोग भएकाले मोबाइलमा हुने कल तथा एसएमएस गतिविधि त्यहीँ हेर्न सकिनेछ।
साथै, चालकले यसमा टप स्पिड मोडको प्रयोगबाट आफ्नो उच्च गति रेकर्ड गर्न सक्नेछन्। चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पिड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिँदा उक्त टप स्पिड डिस्प्लेमा देखिनेछ।
यसका अलावा कम्पनीले यो मोटरसाइकलमा ०–६० रेकर्ड इन्डिकेटर समेत समावेश गरेको छ। उक्त इन्डिकेटरले ० देखि ६० को स्पिड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ। त्यसैगरी नयाँ आरटिआर २०० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपिएम अर्लट, एबिएस इन्डिकेटरलगायत विशेषता छन्।
मोटरसाइकलमा ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अलर्ट मोड उपलब्ध रहेको छ। मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपिएममा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्ने विशेषता समेत छ। यो विशेषताले नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ।
कम्पनीले यसमा क्र्यास अलर्ट विशेषता समेत उपलब्ध गराएको छ। कुनै पनि अवस्थामा मोटरसाइकल दुर्घटनमा पर्दा उक्त विशेषतामार्फत् लोकेशनसहितको दुर्घटनाको सूचना आफूले सेट गरेको नम्बरमा जानेछ। यसका साथै नजिकको अस्पतालको लोकेशन समेत यसमा देखाउने व्यवस्था मिलाउन सकिन्छ। यो विशेषतः सामुहिक राइडका लागि महत्वपुर्ण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।