डडेल्धुरा- एक तोला सुन दिने तमसुक बनाएर बैतडीमा बलात्कारको घटना गाउँमै मिलापत्र गरिएको सार्वजनिक भएको छ। बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेपछि एक तोला सुन दिने तमसुक बनाएर मिलापत्र गरिएको पाइएकाे हो।
बलात्कारका आराेपित सिगास-३ का दीपकसिंह धामी फरार भएपछि मात्र घटना सार्वजनिक भएको हो। गत असार दोश्रो साता बलात्कारमा परेकी किशोरीले घरमा भनेपछि गाउँलेहरुले गाउँमै मिलाएका थिए।
असार दोस्रो साता पानी भर्न गएका बेला ज्यान मार्ने धम्की दिएर धामीले युवतीमाथि बलात्कार गरेको आरोप लागेको छ। घटनालाई गाउँमै मिलाएर बलात्कार गर्ने युवकलाई जोगाउन खोजिएको पीडित पक्षले बताएको छ।
युवकका आफन्त मनोज धामी र अमर धामीले एक तोला सुन दिने भन्दै गाउँमै मिलापत्र गराउन बाध्य बनाएकाे पीडित पक्षकाे आराेप छ। 'आजभोलि घरका अन्य सदस्यलाई ज्यान मार्ने धम्की दिँदैछन्,’ पीडित पक्षले भनेको छ।
बलात्कारका आरोपित दीपकलाई गाउँले नै मिलेर भारत पठाएको पीडितका परिवारले बताएका छन्। आफूहरूको सोझोपनको फाइदा उठाएर बलात्कारको घटनामा मिलापत्र गर्न बाध्य पारिएको पीडित पक्षको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।