प्रतीकात्मक तस्बिर काठमाडौं- विद्युतीय सवारीप्रति उपभोक्ताको चासो बढ्दै गएको छ। चारपांग्रे विद्युतीय सवारीको जति चासो देखिएको छ, दुईपांग्रेमा त्यति छैन। नेपाली बजारमा ५/६ वर्षअघिदेखि विद्युतीय मोटरसाइकल तथा स्कुटर बिक्री हुँदै आएको छ। तर जति ब्रान्ड भित्रिएका छन्, त्यस अनुसारको बिक्री भने हुन नसकेको व्यवसायीहरु नै बताउँछन्।
नेपाली बजारमा हाल बेलादेखि टेल्जी, वकिनावादेखि एनआइयुसम्मका दर्जन बढी ब्रान्डका इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल उपलब्ध छन्। हालै मात्र 'प्योर' ब्रान्डको विद्युतीय स्कुटर भित्रिएको छ। दर्जन बढी ब्रान्डका दर्जनौं मोडल उपभोक्ताको रोजाइका लागि उपलब्ध छन्। तर त्यसरी उपलब्ध भएपनि उपभोक्ताको रोजाइमा भने पर्न नसकेको एक विद्युतीय स्कुटर बिक्रेताले बताए।
‘पेट्रोलबाट चल्ने मोटरसाइकल स्कुटरको बोलवाला रहेको हाम्रो बजारमा विद्युतीय मोटरसाइकल स्कुटरले अझै संघर्ष नै गरिरहनु परेको छ,’ ती व्यवसायीले भने, ‘ब्रान्ड र तिनले उपलब्ध गराएका मोटरसाइकल स्कुटरको छनोट पर्याप्त भए पनि उपभोक्ताले इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकललाई विश्वास गरिनसकेको देखिन्छ।’ विद्युतीय स्कुटर तथा मोटरसाइकलमा उपलब्ध पावर र रेन्ज नै उपभोक्ताले किन्न नआँट्नुको मुख्य कारण भएको उनको भनाइ छ।
पछिल्लो समय भित्रिएका केही ब्रान्डका स्कुटरमा पावर केही सुधार भए पनि रेन्जमा भने खासै सुधार भएको छैन। एक पटक फुल चार्ज गर्दा ५०/६० देखि १ सय किलोमिटरसम्म रेन्ज दिने स्कुटर तथा मोटरसाइकल नेपाली बजारमा भित्रिएका छन्।
यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगलले विद्युतीय मोटरसाइकल तथा स्कुटर दर्ताको छुट्टै तथ्यांक नराखेको भए पनि त्यस्ता सवारीको दर्ता ज्यादै न्यून भएको कार्यालयले जनाएको छ। ‘हामीले विद्युतीय मोटरसाइकल तथा स्कुटर दर्ताको छुट्टै तथ्यांक त राखेको छैन,’ कार्यालय प्रमुख दीपक पोख्रेलले भने, ‘तर मासिक रुपमा दर्ता हुने मोटरसाइकल तथा स्कुटरको तथ्यांकमा विद्युतीयको संख्या नगन्य रहेको पाउँछौं।’ धेरैले विद्युतीय स्कुटर दर्ता गर्नु नपर्ने भन्दै त्यसै गुडाउने गरेको पाइएको छ जुन गलत भएको पोख्रेलको भनाइ छ।
यता विद्युतीय स्कुटर तथा मोटरसाइकलको रिसेल भ्यालूसमेत न्यून हुने विक्रेताहरुको भनाइ छ। विद्युतीय सवारीको सबैभन्दा धेरै खर्च लाग्ने तथा महत्वपूर्ण कुरा भनेको ब्याट्री नै हो। विद्युतीय सवारीमा प्रयोग भएका ब्याट्री आयु ७/८ वर्षसम्म हुने गरेको छ। केही कम्पनीले भने १० वर्षसम्म ब्याट्रीको आयु भएको दाबी गर्दै आएका छन्।
सवारीको लागतको ४० प्रतिशतभन्दा बढी ब्याट्रीका लागि लाग्ने विद्युतीय सवारी उत्पादकहरुको भनाइ छ। सुरुवाती चरणमै भएकाले विद्युतीय स्कुटर तथा मोटरसाइकलको सेकेन्ड ह्यान्डमा कारोबार भएको छैन। सेकेन्ड ह्यान्डमा कारोबार हुने हो भने विद्युतीय सवारीको रिसेल भ्यालू निक्कै कम हुने एक बिक्रेताले बताए। ‘कम बिक्री भएकाले रिकन्डिसन बिक्रीका लागि नआएर विद्युतीय मोटरसाइकल तथा स्कुटरको मूल्यांकन आएको हो,’ ती बिक्रेताले भने, ‘विद्युतीय सवारीको सेकेन्डह्यान्ड बजार उत्साहजनक हुने देखिँदैन।’
बिना दर्ता सञ्चालन
सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा निश्चित पावर उत्पादन गर्ने मोटरबाट चल्ने सवारी अनिर्वाय रुपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। विभागमा यातायात व्यवस्था विभागले बिना दर्ता गुडाइएका विद्युतीय स्कुटर तथा मोटरसाइकल नियन्त्रणमा लिएर दर्ता गराउँदै आएको थियो।
तर हाल यातायात कार्यालयहरु प्रदेश मातहतमा भएकाले यसको अनुगमन हुन सकेका छैन। पेट्रोलबाट गुड्ने स्कुटर तथा मोटरसाइकलसरह नै गुड्ने विद्युतीय स्कुटर तथा मोटरसाइकलले दुर्घटना गराए त्यस्ता सवारीलाई नियन्त्रण लिन अप्ठेरो पर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।