काठमाडौं– आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा क्षेत्रमा नविनतम् प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी सुरु भएको छ । एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा)ले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा १४ देशका विज्ञ सहभागी छन् ।
नेपालले आयोजना गरेको ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेसनल कन्फरेन्स’ आइतबारबाट सुरु भएको हो । दुईदिनसम्म चल्ने सम्मेलनमा नेपालसहित चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड र भियतनामका विज्ञ सहभागी छन् ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा आगलागीबाट वनजंगल तथा विभिन्न संरचनाको धेरै क्षति भएको र आधुनिक प्रविधिका माध्यमबाट समस्यालाई रोक्ने प्रयास भएको बताए । ‘नेपाल सरकारले आगलागीबाट हुने जोखिमलाई महत्व दिएर काम गरेको छ तर पनि सरकारसँग दमकलभन्दा अरु विकल्प छैन,’ उनले भने, 'नेपालको सन्दर्भमा आगलागी न्यूनीकरणका लागि के गर्न सकिन्छ भन्ने कुरा यस सम्मेलनबाट पनि धेरै नै सहयोग हुनेछ भन्ने आशा गरेका छौं । नेपाल सरकारको तर्फबाट, स्थानीय सरकार, प्रदेश सरकारबाट जोखिम न्यूनीकरणका लागि धेरै पहल भइरहेका छन् ।’
प्रत्येक वर्ष नेपालमा दोहोरिइरहने आगलागीका घटनाबाट व्यापक जनधनको क्षति हुने गरेको र यस्ता सम्मेलन आवश्यक र प्रभावकारी हुने आप्साका अध्यक्ष सुनिलकुमार श्रेष्ठले बताए । कार्यक्रमका निर्देशक सुरेश श्रेष्ठका अनुसार सम्मेलनले नेपालको सुरक्षा नीतिमा सुधार ल्याउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,नेपाली सेना, ७५३ वटा स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्रका उद्यमी तथा व्यवसायी र सुरक्षा तथा आगलागी न्यूनीकरणका विज्ञ उपस्थित रहेका छन् ।
सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सबै ७५३ वटै स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी उद्योगी तथा व्यवसायी र सुरक्षा तथा आगलागी न्यूनीकरणका विषयमा विज्ञको उपस्थिति रहने आयोजकले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।