काठमाडौं- सवारीसाधनको नम्बर प्लेट स्पष्ट र तोकिएअनुसार राख्नुपर्ने कानुनी व्यवस्था छ। तर सडकमा गुड्ने कतिपय सवारीसाधनका नम्बर प्लेटहरु खुइलिएका, धमिला र गलत तवरमा लेखिएको भेटिन्छन्।
खुइलिएर नबुझिने भएका नम्बर प्लेटयुक्त सवारीले कतै दुर्घटना गराए पहिचान गर्न कठिन हुन्छ। दुईपांग्रे तथा चारपांग्रे सवारीका धनीहरुले आफूले चढ्ने सवारीको नम्बर प्लेट स्पष्ट बुझिने गरी राखेर गुडाउनु पर्ने कानुनी व्यवस्था रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा एसपी श्यामकृष्ण अधिकारीले बताए।

‘सडकमा गुडाइने सवारीसाधनको नम्बर प्लेट तोकिए अनुसार लेख्नु पर्ने र स्पष्ट बुझिने हुनुपर्ने कानुनी व्यवस्था छ,’ अधिकारीले भने, ‘ट्राफिक प्रहरीले नबुझिने र गलत तरिकाले लेखिएका नम्बर प्लेट भएका सवारीसाधनलाई कारबाही गर्दै आएको छ।’ ट्राफिक प्रहरीले देखेसम्म र भ्याएसम्म नबुझिने नम्बर प्लेट भएका सवारी धनीलाई तत्कालै बुझिने गरि लेखिएको नम्बर प्लेट राख्न लगाएर समेत पठाउने गरेको अधिकारीले बताए।

‘कतिपय अवस्थामा भने भिड धेरै हुँदा र पार्किङको समस्याले गर्दा पर्याप्त चेकिङ गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘तथापी ट्राफिक प्रहरीले आफ्नो क्षमताले भ्याएसम्म चेकिङ गरेर स्पष्ट नम्बर प्लेट राख्न लगाउदै आएको छ।’ नम्बर प्लेट नबुझिने हुँदा दुर्घटना भए वा कसैलाई ठक्कर दिए पहिचान गर्न कठिन हुने उनको भनाइ छ। सवारीसाधनका नम्बर प्लेटहरु धेरै ठाउँमा लेखिने हुँदा एकरुपमा नआएको ट्राफिक प्रहरीले जनाएको छ।

नम्बर प्लेट नै नराखी मोटरसाइकल कुदाउनेहरुको संख्या समेत बढेको छ। वारुण यन्त्र लेखेर नम्बर प्लेट नै नभएका सवारीसमेत बाटोमा देखिन्छन्। यस्ता सवारीलाई कानुन अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।
सवारीसाधनमा उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट जडान भएपछि नम्बर खुइलिने समस्या नहुने र नम्बर प्लेट तथा यसकाे लेखाइमा एकरुपता आउने यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगलका प्रमुख दिपक पोख्रेलले बताए।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।