काठमाडौं– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संस्थागत अभ्यास समाप्त पारेको आरोप लगाएका छन्।
संसद्को विशेष समयामा बोल्दै सिंहले संविधानले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको देशमा परराष्ट्र मन्त्रालय लगायत अन्य बेखबर हुनु आपत्तिजनक भएको टिप्पणी गरे। ‘प्रधानमन्त्रीका बीचमा एक्लाएक्लै भेट हुन सक्दैन, यो कूटनीतिक मर्यादाविपरीत हो,’ सिंहले भने, ‘विश्वका कुनै पनि देशमा यस्ता भेटघाट हुँदैनन्।’
मोदीको भ्रमणमा ओलीले देशको संस्थागत व्यवस्था अन्त्य गर्दै अपारदर्शितालाई समेत बढवा दिएको सिंहले आरोप लगाए। उनले एकल भेटमा भएका कुराकानीलाई परराष्ट्र मन्त्रालयका कर्मचारीलाई बोलाएर अभिलेख राख्ने कार्य तत्काल गर्न पनि माग गरे।
‘यो भेटले संस्थागत र पारदर्शितालाई अन्त्य गरेको छ,’ उनले भने, ‘कोशी, टनकपुर र गण्डकको पानीका विषयमा किन कुराकानी भएन?’
संस्थागत परिपाटीलाई अन्त्य गर्दै एकल रुपमा हुने भेटले फासीवाद अघि बढ्ने उनको आरोप छ। धर्म निरपेक्ष राज्यका प्रधानमन्त्री धर्मयात्रामा रहेका प्रधानमन्त्रीसँग सरिक हुनु संविधानविपरीत कार्य भएको पनि सिंहले बताए।
हालसम्म नेपाल र भारतबीच भएका सबै संयुक्त विज्ञप्तिमाथि सदनमा छलफल हुनुपर्ने पनि उनले माग गरे। 'हालै जारी भएको १२बुँदे, पहिलो पटक मोदी नेपाल आउँदा भएको १६, शेरबहादुर देउवा जाँदा भएको ४६ बुँदेका विषयमा संसदमा छलफल हुनुपर्छ,' उनले भने।
भारतीय एक सांसदले जनकपुरलाई भारतमा गाभ्नुपर्ने अभिव्यक्ति दिँदा सरकार कहाँ बसेर के हेरिरहेको थियो भन्दै उनले त्यसको जवाफ सदनमार्फत गराउन माग गरे।
बैंकक जाँदा प्रधानमन्त्रीले भारतीय सुरक्षाकर्मी या नेतासँग भेटेको भन्दै उनले सदनमा जानकारी गराउन माग गरे। सेतालाई कालो र कालोलाई सेतो भन्दैमा सत्य नछिप्ने उनले टिप्पणी गरे।
सीमामा बस्ने नेपालीलाई दिइने यातनाका विषयमा मोदीसँग किन कुरा भएन भन्दै त्यसको जानकारी गराउन पनि सिंहले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।