काठमाडौं– विशेष अदालतले भारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा बाटैमा चोरेर मिलेमतोमा बेच्ने कार्यमा आयल निगमका क्षेत्रीय उप-निर्देशक नागेन्द्र कुर्मीसहित ३ कर्मचारी, चार जना व्यापारी र १० जना ट्याङ्कर चालकलाई दोषी ठहर गरेको छ। ट्याङ्कर धनीसहित अन्य ८१ जनाले सफाइ पाएका छन्।
विशेषले निगमका कर्मचारी र ट्याङ्कर चालकलाई मात्र कैद हुने फैसला सुनाएको हो। विशेषले करिब ८ करोडको तेल चोरी प्रकरणमा ४१ लाख मात्र बिगो र जरिवाना असुल गर्न आदेश दिएको छ। न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले यस्तो फैसला सुनाएको हो।
विशेषले निगमका पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलबारी डिपोका प्रमुख उप-निर्देशक कुर्मी, प्रबन्धक दीपेन्द्र बस्नेत र सहायक प्रबन्धक रविनकुमार रावतलाई डेढ वर्ष कैद हुने सजाय सुनाएको हो। विशेषले निगमका तीन कर्मचारीलाई डेढ वर्ष कैदसहित जरिवाना, चार जना व्यापारीलाई तीन महिनादेखि एक वर्ष कैद र १० जना ट्याङ्कर चालकलाई १५ दिन कैद सजाय सुनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेल चोरीमा संलग्न भएको भन्दै आयल निगमका ८ कर्मचारी, पेट्रोलियम व्यवसायी ४ जना, ट्याङ्कर धनी ६६ र चालक १९ जना विरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले उनीहरुबाट ७ करोड ७७ लाख ८४ हजार बिगो असुल हुनुपर्ने माग गरेको थियो। उनीहरुमध्ये विशेषले निगमका तीन कर्मचारीलाई मात्र बिगो र जरिवाना ठहर गरेको छ। तीन कर्मचारीबाट २० लाख १० हजार रुपैयाँ जरिवाना गर्न फैसला सुनाइएको छ। बिगो र जरिवाना गरेर उनीहरुबाट ४१ लाख असुल गर्न भनिएको छ।
अख्तियारले चार वर्षअघि भारतबाट इन्धन ल्याउँदा बीच बाटोमा चोरेर मिलेमतोमा बेच्ने कार्यमा संलग्न भएको भन्दै निगमका कर्मचारी, व्यापारी, ट्याङ्कर चालकसहित ९८ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो। तेल चोरी प्रकरणमा निगमलाई करिब ८ करोड रुपैयाँ बराबरको नोक्सान पुर्याएको दाबीसहित २०७१ भदौ ३१ गते विशेषमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।
भारतको बेतालपुरबाट रुपन्देहीको भलवारीमा रहेको निगमको डिपोमा इन्धन आयात गर्ने क्रममा निगमकै संलग्नतामा तेल चोरी हुने गरेको अख्तियारको अनुसन्धानमा देखिएको थियो।
२०७१ बैसाख १६ गते रुपन्देही प्रहरी र राष्ट्रिय सतर्कता केन्द्रले संयुक्त रुपमा छापा मार्दै तेल चोरिरहेको अवस्थामा करिब ३ दर्जनलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरु रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलको आदेशमा धरौटीमा रिहा भएका थिए।
२०७१ जेठ ८ गते रुपन्देही जिल्ला अदालतले रुपन्देहीमा भएको तेल चोरी काण्डमा संलग्न भनिएका ट्याङ्कर चालकहरुलाई दोषी ठहर गर्दै ट्याङ्कर धनी र नेपाल आयल निगमका कर्मचारीलाई निर्दोष रहेको फैसला सुनाएको थियो। जिल्ला अदालतको उक्त फैसलापछि चालक दोषी भएका थिए भने कर्मचारी र ट्याङ्कर मालिकहरुले सफाइ पाएका थिए।
जिल्ला अदालतले ४ जना चालकलाई जनही १ महिना कैद सजाय र जरिवाना गर्ने फैसला सुनाएको थियो।
चोरीमा सघाएको अभियोग लागेका नेपाल आयल निगम रुपन्देही भलवारी डिपोका तत्कालीन प्रमुख नागेन्द्र कुर्मीसहित कर्मचारीहरु दिपेन्द्र बस्नेत र रिवनकुमार राउतले पनि त्यसबेला सफाइ पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।