काठमाडौं- इटालियन क्लब युभेन्टसमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो गएसँगै केन्द्रमा उनै छन्। खेलमा, जितमा र चर्चामा पनि। सिरि ए को पछिल्लो खेलमा क्रोटोनलाई ३-० ले हराउँदा उनै रोनाल्डोले दुई गोल गरे। पछिल्ला दशक विश्व फुटबलको केन्द्रमा देखिएका रोनाल्डोको चर्चा हुनु सामान्य भए पनि उनको छायाँमा केही खेलाडी छोपिएका छन्।
युभेन्टसमा फरक क्षमतामा देखिएर छोपिएका एक खेलाडी हुन्, कोलम्बियाका वान क्वाडरार्डो। २०१७ देखि युभेन्टसमा रहेका उनी विंगर, अट्याकिङ मिडफिल्डर, फुल ब्याक, विंग ब्याक जस्ता विभिन्न क्षेत्रमा रहेर खेल्न सक्छन्। त्यसले उनको क्षमता प्रष्ट भइरहेको छ। अहिले चोटका कारण मैदानबाहिर रहेका उनी केही दिनमा नै फर्कने देखिएको छ।
क्वाडरार्डो फुटबलमा सफल हुनुमा दुईवटा कुरा प्रमुख देखिन्छन्। पहिलो, उनी चार वर्षको हुँदा हत्या गरिएका पिताको सम्झना। दोस्रो, आमा मार्सेलालाई रानी जसरी हेरचाह र संरक्षण गर्ने चाहना।
क्वाडरार्डोलाई फुटबलमा अगाडि आउन आमाले धेरै त्याग गरेकी छिन्। सन् १९८८ मे २६ मा जन्मेका क्वाडरार्डो चार वर्षको हुँदा गाउँ नेकोक्लीमा उनका पिताको हत्या भएको थियो। आमाले उनको बाल्यकाललाई डरलाग्दो हिंसाबाट धेरै टाढा राखेर हुर्काइन्।
त्यो समय नेकोक्लीमा जीवन त्यति सहज थिएन। एन्टियोक्युवाको एक भागको रुपमा यसको राजधानी मेडेलिन थियो। कोलम्बियाले ६० वर्ष भन्दा धेरै भोगेको सशस्त्र द्वन्द्वले यसलाई नराम्ररी गाँजेको थियो। त्यहीँ क्वाडरार्डोको परिवारलाई बढ्न सहज थिएन।
सानै उमेरमा क्वाडरार्डोले गोली चलेको सुनियो भने खाटमुनी गएर लुकिहाल्न पर्छ भन्ने आमाबाबुबाट सिकेका थिए। त्यसरी नै एक पटक गोलीको आवाज सुनेर खाटमुनि लुक्दा उनले आमा मार्सेला रोएको सुने। ठीक त्यतिखेर उनका पिताको हत्या भएको थियो। उनका पिता सामान पुर्याउने ट्रकका चालक थिए।
युभेन्टसका यी खेलाडीलाई आफ्नो पिताको थोरै मात्रै सम्झना छ। पिताकै सम्झनामा प्रत्येकपल्ट उनले गोल गरेपछि आफ्नो दुवै हात आकाशतर्फ फैलाउँछन्।
पिताको मृत्युले क्वाडरार्डोको परिवारलाई अर्को दिशातर्फ लग्यो। उनको स्याहार काकाले गर्न थाले। त्यतिखेर उनकी आमा सोमबारदेखि शुक्रबारसम्म अपार्टाडोमा केरा खेतीमा काम गर्न जान्थिन्। आमाले उनलाई विद्यालय लैजान्थिन्। विद्यालयमा क्वाडरार्डो कक्षामै सुतिदिन्थे। उनी हजुरआमासँग आमाले माया गर्नुहुन्न भनेर गुनासो गर्थे। ‘मलाई आमाले किन फुटबल खेल्न दिनुहुन्न’ भनेर हजुरआमासँग सोध्ने गर्थे।
‘मैले उसलाई विद्यालय पठाउँथे तर, ऊ फुटबल खेलेर यत्तिकै घर आउने गर्थ्यो’ आमा मार्सेलाले भनेकी छिन्, ‘मैले उसलाई पिट्थेँ, किनभने उसको फुटबलको कुनै काम थिएन।’
क्वाडरार्डोले सानै उमेरबाट फुटबलमा आफ्नो कला देखाउन थालिसकेका थिए। उनी ढुंगा वा बल जे भेट्यो त्यसैलाई लात्तिले हान्दै दौडन्थे। त्यसपछि मात्रै उनकी आमाले उनको भविष्य के हो बुझिन्। उनको रुचि बुझिन्। उनलाई पहिले नेकोक्ली र त्यसपछि अपार्टाडोको फुटबल सिकाउने ठाउँमा भर्ना गरिदिइन्। तर, फुटबल खेल्न चाहेमा पढाइ छोड्न नपाउने उनको शर्त थियो।
क्वाडरार्डो बच्चामा धेरै फुर्तिला थिए। एकदिन उनले बाटोमा फुटबल खेल्दा आफ्नो प्रतिस्पर्धीलाई हिर्काइदिए। त्यसपछि आमाले उनको फुटबल बुट एक महिनाको लागि थन्क्याइदिइन्। आमाले खेल्न दिन रोकेपनि विस्तारै उनको खेल कौशलबारे चारैतिर हल्ला फैलिन थालिसकेको थियो। उनलाई नेल्सन गालेगोले डेपोर्टिभो कली क्लबमा लिएर गए।
‘क्वाडरार्डो मसँग धेरै वर्ष बस्यो, मैले उसलाई कसरी स्वावलम्बी हुने, कसरी खाना पकाउने, कसरी पढ्ने, यस्ता सबै कुरा व्यवस्थापन गर्न सिकाएँ’ उनी भन्छन्।
क्वाडरार्डो कलीमा जाँदा १२ वर्षका मात्र थिए। त्यसैले पनि होला उनी त्यहाँ लामो समय टिकेनन्। उनको उचाइ कम भएकोले अस्वीकृत भएका थिए। त्यो समयमा उनी जम्मा ४ फिट ४ इन्च अग्ला थिए। अहिले उनी ५ फिट ९ इन्च छन्। अर्को क्लब रिभरप्लेटले उनमा चासो देखायो र पछि उचाइ थोरै भएकै कारण पछाडि हट्यो। तर, मेडेलिन क्लबले उनलाई खोजी गर्यो र प्रशिक्षक ग्यालेगो सान्टियागो इस्कोबारले उनलाई मन पराए। इस्कोबार भन्छन्, ‘मैले उनको प्रतिभा थाहा पाएँ र उनले विश्वको कुनै पनि ठूलो टिममा खेल्छन् भन्ने त्यतिखेरै लागेको थियो।’
उनले व्यावसायिक खेलको सुरुमा विंग ब्याकको रुपमा खेले र पछि मेडेलिनले उनलाई अगाडि पनि खेलायो। सन् २००९ मा युडिनेज क्बलको आँखामा उनी परेपछि उनी त्यहाँ आबद्ध भएका थिए।
व्यावसायिक रुपमा आबद्ध भएपछि उनले सबैभन्दा पहिले आमा मार्सेलालाई आफैंसँग बस्न र उनलाई अरु काम नगर्न आग्रह गरे। युडिने, लिस, फियोरेन्टिना, चेल्सी र अहिले युभेन्टस उनी जहाँ खेल्न जान्छन् त्यहाँ आमासँगै हुन्छन्।
कोलम्बिया राष्ट्रिय टिमको लागि सन् २०१० मा हेर्नान डेरियो गोमेजको प्रशिक्षकत्वमा उनले डेब्यु गरे र भेनेजुएलाविरुद्ध गोल पनि गरे। पछि जोसे पेकेरम्यानले उनलाई उचित मौका दिए। क्वाडरार्डोलाई क्यामिलो जुनिगाको पछाडि वाइड मिडफिल्डरको रुपमा खेलाए। त्यसपछि उनलाई फरवार्डको रुपमा विकास गरे र अहिले उनी कोलम्बियाको लागि विंगरको रुपमा खेल्छन्।
अहिले पनि क्वाडरार्डो जब गोल गर्छन् आफ्नो दुवै हात आकाशतिर फर्काउँछन् र पितालाई सम्झिन्छन्। सिरि ए मा यो सिजन क्वाडरार्डोले त्यसरी गोलपछि हात आकाशतिर फर्काएर आफ्ना पिता सम्झन पाएका छैनन्। सिरि ए मा १७ खेल र च्याम्पियन्स लिगमा पाँच खेल, कोपा इटालियामा दुई र सुपर कोपामा एक खेल खेलिसक्दा उनी गोलविहीन छन्। १३ गोलका लागि अवसर भने बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।