प्रहरीले बरामद गरेको रेडपाण्डाको छाला। काठमाडौं-
घटना १- गत वैशाख ३१ गते सर्लाहीबाट निल गाई मारेर छाला काट्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गर्यो। ईश्वरपुर नगरपालिका-४ का रणबहादुर गोले त्यसबेला पक्राउ परे।
शिकारीलाई निन्त्रणमा लिने क्रममा प्रहरी र शिकारी समूहबाट दोहोरो फायरिङ समेत भएको थियो। नियन्त्रणमा लिने क्रममा शिकारीको समूहले प्रहरीतर्फ ३ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले पनि २ राउण्ड फायरिङ गरेको थियो। गोले पक्राउ परेपनि अरु शिकारी भने भागेका थिए।
सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथ वन क्षेत्रमा शिकारी हतियारसहित पसेका थिए। इन्स्पेक्टर जनकराज ढुंगाना समेतको कमाण्डमा खटिएको प्रहरी टोलीले शिकारीले प्रयोग गरेको प्रदेश-२-०२ ०३२ प २५२२ नम्बरको मोटरसाइकल र बीआर ३० यू ४६७७ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गर्यो भने तीन नाल भरुवा बन्दुक र त्यसमा लाग्ने बारुद पनि बरामद गरेको थियो।
घटना २- संघीय प्रहरी इकाई कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले जेठ २५ गते कैलालीबाट रेडपाण्डाको छालासहित एक जनालाई पक्राउ गर्यो। कैलालीको गोदावरी नगरपालिका-५ स्थित गेटा सामुदायिक वनबाट बझाङको देउलेकका २३ वर्षीय अमर धामी रेडपाण्डाका छालासहित पक्राउ परे। रेडपाण्डा मारेर छाला काडेर उनले बोकेका थिए।
घटना ३- शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ दि फेमस महिन्द्र दल गणले निकुञ्जको इलाका चिलाउनेबाट १५ किलो बँदेलको मासुसहित एक जनालाई गत जेठ १२ गते पक्राउ गर्यो।
काठमाडौं गोकर्णेश्वर नगरपालिका-१, चिलाउनेका ५० वर्षीय धनबहादुर तामाङ बा २९ प १५७९ नम्बरको मोटरसाइकलमा बँदेलको मासु बोकेर सुन्दरीजलतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका थिए।
घटना ४- महानगरीय प्रहरी अपराध महाशाखाले असार ११ गते चितुवाको छालासहित स्वयम्भूबाट दुई जनालाई पक्राउ गर्यो। सिन्धुलीको मरिण–३ का ३२ वर्षीय सुशीलकुमार वाइबा र घ्याङलेख–१ का कान्छाराम वाइबा चितुवाको छालासहित पक्राउ परेका थिए। उनीहरुले उक्त छाला ६ लाखमा बेच्न लागेको महाशाखाको भनाइ छ।
वन्यजन्त चोरी शिकारीका यी चारवटै घटना कोरोना कोभिड-१९ का कारण लगाइएको निषेधाज्ञामा भएका हुन्। गत वैशाखको दोस्रो सातादेखि सुरु भएको निषेधाज्ञायता वन्यजन्तु चोरी शिकारीका घटना बढ्दै गएको पाइएको छ। निषेधाज्ञाले आवतजावत ठप्प हुँदा फुर्सदिला बनेका केही व्यक्तिहरू वन्यजन्तु अपराधमा संलग्न हुन थालेको प्रहरीले दैनिकजसो बरामद गरेको वन्यजन्तुका हाडछाला तथा पक्राउ परेकाहरुबाट पुष्टि हुन्छ।
निषेधाज्ञाको समयमा वन्यजन्तु चोरी शिकारी बढेपछि कतिपय स्थानीय तहले यसविरुद्ध अभियान नै चलाए। निषेधाज्ञामा चोरी शिकारी बढेको भन्दै डोटीको शिखर नगरपालिकाले चोरी शिकारी नियन्त्रण अभियान चलाएको थियो। विभिन्न बहानामा स्थानीयहरु जंगल जाने र वन्यजन्तुको शिकार गर्ने क्रममा बढेको भन्दै शिखर नगरपालिकाले चोरी शिकारी नियन्त्रण अभियान चलाएको थियो।
शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले उक्त अभियान अहिले पनि जारी नै रहेको बताए। रतुवा, घोरल, बँदेल, कालिज लगायतका पंक्षी तथा जनावरहरु शिकारीको निशानामा पर्न थालेपछि चोरी शिकारी नियन्त्रण अभियान चलाइएको जोशीको भनाइ छ।
यस्तै, निषेधाज्ञाकै समयमा कैलालीको संरक्षित वन क्षेत्र बसन्तामा पनि चोरी शिकारी बढेको भन्दै निगरानी बढाइएको छ। निषेधाज्ञाको सयमा काठ भन्दा पनि वन्यजन्तु चोरी शिकारी हुने गरेको गुनासो आएपछि निगरानी बढाइएको सबडिभिजन वन कर्यालय पचमुडियाका सहायक वन अधिकृत विश्वराज पण्डितको भनाइ छ। चोरी शिकारी बढेकाले गस्ती र निगरानी बढाइएको पण्डितले बताए।
मध्य तराईका सर्लाही र महोत्तरीका जंगलमा पनि निषेधाज्ञाको समयमा वन्यजन्तुको चोरी शिकारी बढेको गुनासो आएपछि गस्ती बढाइएको छ। सर्लाहीमा त शिकारी र प्रहरीबीच दोहोरो फायरिङ समेत भएको थियो। महोत्तरी र तराईमा बँदेल, नीलगाई, मृग, हरिण, दुम्सीसहितका वन्यजन्तुहरुको शिकार हुने गरेको गुनासो आएपछि गस्ती बढाइएको हो।
डिभिजन वन कार्यालय लालबन्दीका अनुसार वन्यजन्तु चोरी शिकारी बढेपछि गस्ती बढाइएको छ। सशस्त्र प्रहरीका तीन वटा बेसका २१ सुरक्षाकर्मी र वनका ७० कर्मचारीहरु आलोपालो गस्तीमा निस्कने गरेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा वन्यजन्तु चोरी शिकारी हेर्ने छुट्टै पिलर नै छ। उक्त पिलरका एक प्रहरी अधिृकतका अनुसार निषेधाज्ञामा घास दाउरा गर्ने बहानामा वन्यजन्तु शिकार गरेर मासु खाने घटना बढेको हुनसक्ने बताए। निषेधाज्ञामा शिकार गरेर अखेटोपहार बाहिर सप्लाई गर्न समस्या हुने भएकाले त्यस्ता घटना भने नभएको उनको भनाइ छ।
सीआईबी प्रमुखको जिम्मेवारी सम्हालेर भर्खरै सरुवा भएका डीआईजी सहुकलबहादुर थापाले भने निषेधाज्ञामा चोरी शिकारी बढ्न सक्ने आकलन गरेर सोही अनुसार काम भइरहेको बताए। ‘निषेधाज्ञाले मान्छे फुर्सदिला भएकाले चोरी शिकारी बढ्न सक्ने हाम्रो पनि अनुमान हो। अहिले नै बढ्यो भन्न सक्ने अवस्था छैन। चोरी शिकारी बढ्न सक्नेतर्फ सचेत भएर सीआईबीले काम गरिरहेको छ’, थापाले भने।
केही स्थानीय तहहरुले वन्यजन्तु चोरी शिकारीका घटना बढेको भन्दै नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेको बताएपनि राष्ट्रिय निुकञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भने चोरी शिकारीको तथ्यांक आइनसकेकाले अहिले नै बढेको भन्ने नसकिने बताएको छ।
‘निषेधाज्ञा भएपछि बढेको भन्ने ठ्याक्कै डाटा छैन। तथ्यांकले पुष्टि गरेको भन्ने आइसकेको छैन। चोरी शिकारी बढ्यो होला भन्ने एजम्सन गर्न सकिन्छ। कहीँ बढेको पनि छ कहीँ घटेको पनि छ’, विभागका सूचना अधिकारी हरिभद्र आचार्यले भने, ‘कहीँ चाहिँ बेरोजगार भएर गाउँमा मान्छे आए। जंगलमा कोही निगुरो टिप्न जाने, कोही काठ काट्न जाने बहानामा शिकार गर्ने होलान्। शिकार गरेर उतै मासु खाने पनि होलान्। तर, कतिपय ठाउँमा कोभिड संक्रमण धेरै भएकाले मान्छे बाहिर निस्कँदैनन्। बाहिर ननिस्केपछि जंगल जाने कुरा पनि भएन। त्यसकारण तथ्यांक आइनसकेकाले अहिले नै बढ्यो वा घट्यो भन्न सक्ने अवस्था छैन।’
कोभिडले निकुञ्ज, आरक्ष बाहेकको जंगलमा गस्तीमा समस्या
कोभिडका कारण निकुञ्ज, आरक्षका जंगलमा गस्ती, पेट्रोलिङमा कुनै असर नगरेपनि बाहिर जंगलहरुमा भने केही असर गरेको विभागको भनाइ छ। निकुञ्ज, आरक्षहरुमा सुरक्षा पोष्ट भित्रै हुन्छ।
‘गस्ती पेट्रोलिङका लागि चाहिने सवारीदेखि अन्य सामानहरु भित्रै हुन्छन्। सुरक्षा फौज पनि त्यहीँ सेन्ट्री बनाएर बस्ने भए। तर, अन्य जंगलमा भने सबै कुरा सम्भव छैन। जसकारण निषेधाज्ञामा बाहिर जंगलको गस्ती पेट्रोलिङमा भने केही समस्या आएको छ’, विभागका सूचना अधिकारी आचार्यले भने।
सामुदायिक तथा राष्ट्रिय वनको हकमा भने स्थानीय तहले समेत वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा केही बजेट कार्यक्रममार्फत् सहयोग गरेको र निषेधाज्ञामा सूचनाहरु दिएर सहयोग गरेकाले चोरी शिकारी नियन्त्रणमा धेरै सहयोग भएको आचार्यको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।