चित्र : रसिक राज हजुरले भनिहाल्नु भो
हामी समान छौ!
हुन त हो साहेब
तर...अलिक त फरक छ
म र हजुरबीच...
हजुरलाई जस्तै
हजुरको छोरोलाई पिज्जा र कोक खुब मन पर्छ
मेरो छोरो मेरै धोतीको फेद चपाएर अघाउँछ।
हजुर हामीलाई देखर
मन नलागी नलागी उदास देखिनु हुन्छ
हामी मन लागी लागी हाँस्न सक्दैनौं।
हामीलाई निद पर्दैन
पानी परेको रात
साहेब!
हाम्रो भान्सामा जति बर्तन छन्
त्योभन्दा धरै छन् छानोमा प्वाल
र त्यो भन्दा पनि धेरै छन्
हामी सुत्ने कोठाको पिठ्युँमा खाडल
हजुर भने
निद नपरेको रातमा
पानि परेको रेकर्डिङ सुन्नु हुन्छ मोबाइलमा।
अलकति फरक छ साहेब...
हजुर खुशी हुनुहुन्छ
हजुरको छोरीले जितेकी छिन्
सुन्दर युवतीको ताज
म अन्योलमा छु
हप्ता दिनभित्र
कसरी जुटाउँ दहेज?
कसरी जोगाउँ छोरीको आङ?
कसरी लुकाउँ सलाई र मट्टीतेल?
हजुरले राति राति फोहर फ्याक्ने इलाकामा छ मेरो मेरो घर ।
र हजुरको घर भएको इलाकामा म फोहर जस्तै ठानिन्छु।
हजुर जब मेरो मोहल्लामा आएर भन्नुहुन्छ-
‘हामी फोहर किचड हटाईदिन्छौं’
मलाई बुहत डर लाग्छ।
अलिक फरक छ साहेब...
हजुर जुन सन्की आदतका किस्साहरु सुनाएर रमाउनु हुन्छ
मैले हजुरको त्यही सनकले च्यातिदिएको
मेरी मेहरारुको ब्लाउज चुपचाप सिलाएको छु।
हजुरले पान खाएर जहाँ थुक्नु भएको छ
मैले वही जमिनलाई हजार बार चुमेको छु।
हजुर आफ्नो जस्तो अनुहारमा
देश देख्नु हुन्छ
र मेरो जस्तो अनुहारमा
मात्र मधेस देख्नु हुन्छ।
र पनि भन्नू हुन्छ
हामी समान छौ!
तर, अलिक त फरक छ साहेब...
हजुरले दाँत माझ्दै
दोपहेरको सभामा सुनाउन
रटिरहँदा आफ्नो योगदानको श्लोक
भोर नहुँदै मैले गुमाएको छु
आफूले टेकेको मिट्टी
र मिट्टी बचाउन खोज्दा आफ्नै जिन्दगी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।