तस्बिर : मन्डला थिएटर काठमाडौं– कोभिड महामारीका कारण २०७६ चैतपछि थिएटरमा नाटक प्रदर्शन हुन सकेन। तर, महामारीकालमा भर्चुअल माध्यमबाट नाटक प्रदर्शन गर्ने नयाँ ‘ट्रेन्ड’को सुरुवात भएको छ।
काठमाडौँका थिएटर मल, मण्डला, शिल्पी, कौसीलगायत थिएटरले भर्चुअल माध्यमबाट नाटक प्रदर्शन गरे। यी थिएटरले नयाँ माध्यमबाट भए पनि नाट्य क्षेत्रलाई चलायमान राखे।
महामारी विस्तारै घटेपछि नाट्य क्षेत्र पनि विस्तारै चलायमान हुँदै गएका छन्। गएको साउनमा मात्र शिल्पी थिएटरमा पहिलो पटक दर्शकको भौतिक उपस्थितिमा नाटक प्रदर्शन भयो। अन्य थिएटरमा पनि नाटक प्रदर्शनीको तयारी भइरहेको छ। नाटकका दर्शकलाई अबको नेपाली रंगमञ्च कस्तो होला भन्ने चासो बढेको छ।
कोभिडकालपछि रंगमञ्चमा पहिलाजस्तो दर्शक नझुम्मिने कतिपयको आकलन छ। तर, रंगकर्मीहरु भने थिएटर फेरि जाग्ने बताउँछन्। ‘अवस्था थोरै सहज हुँदै जाने हो भने दर्शकहरु रंगमञ्चसम्म आइपुग्छन् भन्ने नै लागेको छ,’ शिल्पी थिएटरका रंगकर्मी घिमिरे युवराज भन्छन्, ‘अहिले हामीले भर्चुअल अभ्यास गरेर यो क्षेत्रलाई चलायमान राखेका छौँ। सधैँ अवस्था यस्तो हुँदैन। सहज अवस्थामा फेरि दर्शक रंगमञ्चसम्म आइपुग्छन्।’
रंगमञ्च खुलेपछि भर्चुअलमा नाटक हेरेका नयाँ दर्शक पनि थपिने उनको आशा छ। ‘कोरोनाकालका प्रयोगहरु भोलि पनि हामी नाटकमा गर्छौं,’ घिमिरे भन्छन्, ‘अब नाटक प्रदर्शन गर्दा एक दुई शो भर्चुअल रुपमा गर्ने सोचेका छौं। यसले थिएटरलाई नोक्सान नभएर अन्तराष्ट्रियस्तरमा पुर्याउँछ।’
कोभिडपछि नेपाली रंगमञ्चमा भर्चुअलमाध्यमले कुनै न कुनै रुपमा उपस्थिति जनाउने देखिएको छ। थिएटरमा प्रदर्शन भएका नाटकहरुलाई भर्चुअल माध्यमबाट पनि प्रसारण गरेर नाटक हेर्ने दर्शकको दायरा फराकिलो बनाउन सकिने निर्देशक घिमिरे बताउँछन्।
रंगमञ्चमा कोभिडका कथा
विश्वभर कोरोना महामारीसँग जोडिएका कथाहरु रंगमञ्चमा प्रस्तुत हुन थालिसकेका छन्। अमेरिकाको वासिङ्टनमा रहेको ‘मेट्रो थिएटर कम्पनी’ले कोभिडबीचमै 'कोभिडकाल कथाहरु'लाई नाटकमा प्रस्तुत गरेको थियो। ३० जुलाई २०२० मा करिब एक घण्टा लामो नाटक ‘अर्लि डेज– स्टोरिज अफ द पेन्डेमिक’ भर्चुअल रुपमा प्रदर्शन गरिएको थियो।
बेलायत, क्विन्सवेस्थित हुबर्ब थिएटर कम्पनीले पनि कोभिडकालमा भर्चुअल माध्यमबाट नाटक प्रदर्शन गरेको थियो। यो थिएटरले औसतमा १५ देखि २० मिनेटका दर्जनभन्दा बढी नाटकहरुको भिडियो युट्युबमा राखेको थियो। तीमध्ये ‘टायम ट्राभल’, ‘अ प्लेस कल्ड होम’जस्ता नाटकहरुमा कोभिडका कारण सिर्जना भएको अन्योलग्रस्त अवस्थालाई चित्रण गरिएको छ।
नेपालमा पनि अब बन्ने नाटकहरुमा कोभिडकालको कथा आउने आशा गरिएको छ। रंगकर्मी केदार श्रेष्ठ कोरोनाकालका कथाले नेपाली रंगमञ्चमा उपयुक्त स्थान पाउने बताउँछन्। रंमगञ्चमा समसामयिक कथा भन्ने रंगकर्मीका निम्ति अब भन्ने कथा कोरोनासँगै जोडिएका हुने उनी बताउँछन्। ‘ठूला घटनाले हामीलाई थुप्रै कथाहरु दिएको हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘ती कथा बिस्तारै हाम्रो रंगमञ्चमा आएका छन्। कोरोनाकालका कथा पनि विस्तारै रंगमञ्चमा आउँछन्। अब हामीले भन्ने समसामयिक कथाहरु यिनै हुन्।’
तर, कोभिडसँग सम्बन्धित कथा तत्कालै नेपाली रंगमञ्चका दर्शकले हेर्न पाउने सम्भावना नरहेको रंगकर्मी घिमिरे बताउँछन्। डेढ वर्षसम्म अन्योलग्रस्त समयसँग जुँधेका रंगकर्मी फेरि त्यही मनोविज्ञानका कथा बुन्न जाँगर नचलाउन सक्छन्। रंगकर्मी घिमिरे अबको दुई चार वर्षपछि मात्रै यी कथामा काम गर्न उत्साह हुने बताउँछन्।
‘भर्खर यो तनावबाट मुक्त भएकाले तत्काल कोरोनाका कथाहरुमा काम गर्न जाँगर चल्दैन,’ घिमिरे भन्छन्, ‘अहिले नै त्यो तनावलाई नाटकमा देखाउन मन पनि छैन। भोलि यी कथामा साहित्य लेखिन्छन्। अनि मात्रै नाटक बनाउनुपर्छ।’
राज्यले महत्व नदिएको गुनासो
राज्यले रंगमञ्च र रंगकर्मीका लागि विशेष योगदान केही गरेको छैन। रंगकर्मीहरु आफ्नै बलबुताले यहाँसम्म आइपुगेका छन्। सडक नाटक गर्नेदेखि थिएटर खोल्नेसम्मका काम रंगकर्मीले नै गरेका छन्। महामारीको समयमा पनि राज्यले यो क्षेत्रप्रति चासो देखाएन।
‘यो देशमा नाट्य क्षेत्रलाई राज्यको तर्फबाट कुनै किसिमको सम्बोधन नआउने पुष्टि भएको छ,’ रंगकर्मी घिमिरे भन्छन्, ‘कोभिडकालसँग जुँधिरहँदा अन्य क्षेत्रलाई राज्यले आश्वासन भए पनि दिएको छ। तर, नाट्य क्षेत्रलाई सम्बोधन गर्नसम्म आवश्यक ठानेन।’
नेपालको सन्दर्भमा नाट्य क्षेत्र सधैँजसो प्रतिपक्षी बनेर उभिएको कारण राज्यको उपेक्षामा पर्ने गरेको छ। राज्यको कमिकमजोरीमाथि प्रश्न गर्ने भएकैले यो क्षेत्रलाई बेवास्ता गरिएको रंगकर्मी घिमिरे बताउँछन्। ‘जबसम्म राज्यले आलोचनालाई सहज रुपमा ग्रहण गर्न सक्दैन, तबसम्म यो क्षेत्रलाई बेवास्ता गरिरहन्छ,’ उनी भन्छन्।
झन् थलिए मोफसलका थिएटर
काठमाडौँ रहेका थिएटरहरु महामारीबीच जसोतसो जोगिएका छन्। तर, काठमाडौँबाहिर भने रंगमञ्चलाई कोरोना महामारीले चुनौतीको चाङ नै थपिदिएको छ।
महामारीअघि पनि मोफसलका रंगमञ्च संघर्षरत थिए। रंगकर्मीहरुको उत्साहले मात्रै टिकेका थिए। कोभिडका कारण झन् थलिएको कर्णालीका रंगकर्मी हिरा बिजुली नेपाली बताउँछन्। कर्णालीमा थिएटर सञ्चालनका लागि नेपाली र उनको समूहले संघर्ष गरिरहेको थियो। तर, कोभिडका कारण थिएटर खोल्ने विषय तत्काललाई बन्द भएको उनी बताउँछन्।
‘हामीले धेरै प्रयास गरिरहँदा पनि नाटक देखाउने, जनमानसमा जाने सबै काम ठप्प भयो,’ नेपाली भन्छन्, ‘यहाँ आर्थिक पाटोको मात्र विषय होइन, मनोवैज्ञानिक त्रास पनि जोडियो। कोभिडका कारण थिएटरका काम रोकिएका छन्।’
हाल उनको समूह नयाँ नाटकमाथि काम गरिरहेको छ। नयाँ नाटक मञ्चनका लागि कथा लेख्ने र आवश्यक खर्च जुटाउने काम गरिरहेका छन्। ‘कोभिड नआएको भए अहिलेसम्म कर्णालीमा हामीले थिएटर सञ्चालनमा ल्याइसक्थ्यौं,’ नेपाली भन्छन्, ‘प्रदर्शनदेखि सबै पक्षमा असर गर्यो। मान्छेसँग भेटघाट त भयो, तर थिएटरलाई अघि बढाउने काम बन्द भएको छ।’
कोभिडकालअघि पनि मोफसलमा पैसा तिरेरै नाटक हेर्ने चलन चलिसकेको थिएन। आफ्नै नाटकघर खोलेकाहरुले पनि नाटक मञ्चन गर्दा दर्शक जुटाउनै समस्या हुन्थ्यो। विभिन्न स्कुलका बालबालिकालाई ल्याउनेदेखि विनाटिकट नै नाटक मञ्चन गरिन्थ्यो।
कोभिडका कारण यो जोखिम झन् बढेको छ। व्यावसायिक बन्न खोज्दै गरेका मोफसलका थिएटर झन् थलिएको नेपाली बताउँछन्। उनी भन्छन्, ‘काठमाडौंबाट आफ्नै ठाउँमा रंगकर्म गर्छु भन्ने सपना बोकेर जाने रंगकर्मीलाई अब के गर्ने भन्ने अन्योल छ। कतिपयलाई यो क्षेत्र नै छाड्नुपर्ने स्थिति भइसक्यो। अब अगाडि बढ्न धेरै चुनौती थपिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।