ह्याप्पिनेस इज हेल्दी। अर्थात् प्रशन्नता नै स्वास्थ्य हो। यदि तपाईको मन प्रशन्न छ भने स्वास्थ्य पनि राम्रो छ। प्रशन्न मन वा चित्त हुनेहरुको शरीरको सबैभन्दा सानो कोष स्वस्थ हुन्छ, शरीरका अंगहरु स्वस्थ हुन्छन्। विभिन्न शारीरिक रोगहरुबाट जोगाउने रोग प्रतिरोधी क्षमता बलियो हुन्छ।
प्रशन्न चित्त हुनेहरु आफ्नो काम जोश र जाँगरले चाख लिएर गर्छन्, गरेको काम राम्रो हुन्छ। ध्यान दिएर गर्ने हुँदा गल्ती कम हुन्छ, र तोकिएको समयमै काम सम्पन्न गर्छन्।
मानव विकासको क्रम हेर्ने हो भने जंगलमा वा गुफामा बस्थे। कन्दमूल र जनावरहरुको शिकार गरेर जीवन धान्थे। सधैँ वन्यजन्तुबाट आक्रमण हुन्छ कि वा कुनै अर्को समूहसँग लड्नु पर्छ कि भन्ने डर र त्रासमा बाँच्थे। त्यस बेलादेखि अहिलेसम्म पनि मानिस कसरी बाँच्ने र कसरी सुरक्षित रहने भन्ने सोचमा छ। मानिसमा मात्र नभएर सबै प्राणीमा सुखसँग बाँच्ने र अरुको आक्रमणबाट जोगिने चाहना हुन्छ।
डा. कपिलदेव उपाध्यायविकासको क्रममा जे जस्तो अनुभव मानिसहरुले गरे त्यसै अनुरुप मष्तिस्कको विकास हुँदै गएको देखिन्छ। त्यसैले भन्ने गरिन्छ, ‘हाम्रो दिमाग बाँच्न र जोगिन निर्माण गरिएको हो, शान्ति र खुशीका लागि होइन।’ आन्तरिक द्वन्द्व, युद्ध, झगडा र कुटपिट तथा अरुभन्दा आफू अगाडि बढ्न प्रयास गर्ने बानी सायद मष्तिस्कको विकास र आफू राम्रोसँग बाँच्ने प्रयाससँग सम्बन्धित छ।
आजको युगमा जंगलमा बस्ने बेलाको जस्तो असुरक्षा छैन, तर मानिस पूर्ण रुपमा सुरक्षित छ भन्ने अवस्था पनि छैन। चोरी, डकैती, गुण्डागर्दी, दमन, घरेलु हिंसा, यौन हिंसा, बलात्कार, जस्ता घटना एकातिर छन् भने आतंकवादी गतिविधि र आफू आफू नै लड्ने, एउटा समुदाय, जात वा वर्गले अर्कोलाई खतम पार्न खोज्ने क्रम घटेको छैन। हातहतियार बनाउने र बेच्ने होडबाजी त छँदैछ। अर्थात्, मानवमा अहिले बाँच्ने र जोगिनेमा खासै फरक आएको छैन। सबभन्दा बढी डर पैदा गर्ने कारण पनि यी दुई हुन्। नकारात्मक सोचहरु बढी आउने कारण यस्तै विभिन्न डर, त्रास र असुरक्षा नै हो।
मानिस चाहन्छ खुसी, आनन्द, प्रशन्नता, सुरक्षा आदि। मष्तिष्कको ‘प्रोग्रामिङ’मा बाँच्ने र जोगिने भएकाले यसलाई ‘रि–प्रोग्रामिङ’ गरे मात्र खुशी र आनन्द प्राप्त गर्न सकिन्छ। मेरो मन खुसी भइरहोस् भन्ने चाहना गर्दैमा प्राप्त हुने होइन। यसको लागी नियमित अभ्यास र प्रयासको आवश्यकता छ।
जस्तो अनुभव मष्तिष्कले गर्छ त्यस्तै किसिमको परिवर्तन मष्तिष्कमा हुन्छ भन्ने विज्ञानले प्रमाणित गरिसकेको छ। त्यसो भए सकारात्मक सोचको लागि, खुसीको लागि, प्रशन्न चित्तको लागि के–कस्ता क्रियाकलापहरु गर्यो भने परिवर्तन ल्याउन सकिन्छ त?
- आफ्नो असल मित्रहरुसँग मित्रता कायम राखिराख्ने।
- नयाँ– नयाँ कुराहरु सिक्ने, सिर्जनशील कार्य गर्ने प्रयास गरिरहने।
- दुःखमा परेको, अप्ठेरोमा परेको व्यक्तिलाई सहयोग गर्ने।
- अरुहरुको सधैं राम्रो होस् भन्ने चाहना राख्ने।
- जे र जस्तो छ त्यसमा चित्त बुझाउने, रमाउन सिक्ने र खुसी हुने। सकभर सरल तरिकाले जीवन जीउने।
- आनन्दसँग रमाएका दिनहरुको बेला बेलामा सम्झना गर्ने, कल्पना गर्ने र खुसी भएको अनुभव गर्ने।
- राति सुत्ने बेलामा आज मैले के–के राम्रो काम गरें भन्ने सम्झने। मन पर्छ भने नोटबुकमा लेख्ने गरे पनि हुन्छ।
- बिहान उठेर आजको दिन राम्रोसँग बिताउँछु, आज रिसाउँदिन, रिस उठिहाले पनि नियन्त्रण गर्छु भन्ने प्रण गर्ने।
दलाइ लामा आफ्नो पुस्तक ‘एडभाइस अन डाइङ’मा दिमागले शान्त, आराम र खुशी महसुस गरेको छ भने मात्रै खाना मीठो लाग्छ र लगाएको मन पर्छ भनेका छन्। हुन पनि हो, हामीलाई डर छ, त्रास छ, मन दुखी छ, शंका छ भने हामीले खान, लाउन र खुसीसँग जीवन बिताउन पनि सकिरहेका हुदैनौं। मन खुसी छ भने, प्रशन्न छ भने हामी जीवन रमाएर बिताउन सक्छौं।
यहाँ सधै अरु प्रति राम्रो भाव राख्ने र अरुको सधै राम्रो होस् भन्ने भावना ल्याउन निकै कठिन छ। आफूलाई राम्रो गर्नेहरु, माया गर्नेहरुप्रति त यो भावना प्राय आउँछ नै। तर, आफूलाई नराम्रो गर्ने, कुभलो चिताउने सधैं कुरा काट्ने कसरी दुःख दिउँ भन्नेहरुप्रति पनि सदभाव राख्ने, उनीहरुको राम्रो चिताउने र बदलाको भावना मनमा आउन नदिने प्रयास निरन्तर गर्नुपर्छ।
रिस र घृणा गर्ने कारण नै चित्त प्रशन्न राख्नको लागि बाधक हुँदो रहेछ। रिस र घृणा गर्नेहरुको मस्तिष्क अझ बढी रिस र घृणा गर्न सक्ने हुँदो रहेछ भने अरुले जे जस्तो गरे पनि आफूले उनीहरुको राम्रो होस् भन्ने प्रयास गरी राख्यो भने मस्तिष्कमा पनि त्यस्तो गर्न सक्ने क्षमता बढ्दो रहेछ।
शाक्यमुनि वुद्धले भन्नु भएको र अति नै महत्वपूर्ण मानिएको एउटा भनाई छ, ‘घृणाले संसारमा घृणाको अन्त्य गर्न सकिँदैन। घृणाको अन्त्यका लागि प्रेम चाहिन्छ।’ यसलाई पालन गर्न सकियो भने मात्रै द्वेष र घृणाको चक्रबाट मुक्त हुन सकिन्छ। द्वेष र घृणा छैन भने त मन प्रशन्न र शान्त हुन्छ।
मन खुसी हुने भनेको जति बेला पनि हाँस्न मन लाग्ने र विनाकारण प्रशन्न भइरहने भन्न खोजेको होइन। मनमा चिन्ता, डर, दुःख जस्ता भावना हुँदैनन् र मन शान्त हुन्छ, आनन्दको अनुभव हुन्छ भनेको हो। मन तनावरहित र शान्त हुन्छ, आनन्दको अनुभव हुन्छ भने यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।