एजेन्सी– बलिउड अभिनेत्री दीशा पटानी सलमान खानका साथ चाँडै फिल्म 'भारत'मा अभिनय गर्दै छिन्। सन् २०१५ मा तेलगु फिल्मबाट कलाकारिता क्षेत्रमा पाइला राखेकी उनको अभिनय यात्रा केही संघर्षपूर्ण छ।
फिल्म उद्योगमा प्राय: कलाकारहरु आफ्नो मान्छेको सहारामा स्टार बने पनि दीशाको जीवनमा भने यसको प्रभाव छैन। अभिनयप्रतिको लगाव र कडा मिहिनेतबाटै उनले बलिउडमा आफूलाई स्थापित गरेकी हुन्।
पछिल्लो समय उनी अभिनीत फिल्म 'बागी २' ले निकै राम्रो व्यापार गरेको थियो। फिल्मले भारतीय बक्सअफिसमा मात्रै १ सय ६५ करोड बटुल्यो। उक्त फिल्मले दीशाको पहिचान राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा फैलाए पनि उनले अघिल्ला फिल्महरुबाट उनले आफ्नो क्षमता प्रस्तुत गरेकी थिइन्। 'एमएस धोनी- द अनटोल्ड स्टोरी'मा उनको भूमिका थोरै भए पनि त्यहाँ उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए। सोही फिल्मका आधारमा उनले अहिलेका सफल फिल्महरुमा मुख्य पात्रको अभिनय गर्ने मौका पाएकी थिइन्।
उनले हङकङका चर्चित अभिनेता ज्याकी चैनसँग फिल्म ‘कंग फू योगा’मा पनि अभिनय गरिसकेकी छिन्।

दीशाले अभिनयकै लागि अध्ययन बीचैमा छाडेकी थिइन्। उनले एक अन्तर्वार्तामा बताए अनुसार, इञ्जिनियरिङमा स्नातक गर्दागर्दै मोडलिङको अफर आएपछि उनले यतातिर प्राथमिकता दिइन्। अध्ययन छोडेसँगै अभिनयको सपना पूरा गर्न उनी मुम्बई पुगिन्, साथमा थियो ५ सय भारु।
उनका अनुसार, मुम्बईमा नयाँ केटीहरुलाई अगाडि आउन धेरै गाह्रो थियो। त्यसमा पनि उनी मुम्बईमा एक्लै बस्थिन्। जीवन गुजाराका लागि उनले केही काम गर्न थालिन्। त्यसैबाट उनले आर्थिक स्रोत जम्मा पारिन्, खर्चका लागि घरमा निर्भर हुनुपरेन।
उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘कुनै समय मेरो साथमा पैसा पनि थिएन। म प्राय: टेलिभिजन विज्ञापनका लागि अडिसन दिन जाने गर्थेँ। यदि मैले कहीँ पनि काम नै पाइनँ भने कोठा भाडा कसरी तिर्ने भन्ने निकै चिन्ता लाग्थ्यो।’

करिअर बनाउन थालेको संघर्षको ३ वर्षमा बल्ल दीशाले आफ्नो पहिचान बनाएकी छिन्। उनी टाइगरपछि सलमानसँग अभिनय गर्दै छिन्। यसले बलिउडमा उनको उक्लिँदो यात्रा साबित गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।