फाइल तस्बिर। काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रदेश २ को बन्दसत्र भोलि, शनिबार बिहान ९ बजे हुने भएको छ। प्रदेशको बन्दसत्र सर्लाहीको लालबन्दीमा हुने तय भएको प्रदेश २ का माओवादी इन्चार्ज गणेश साहले बताए।
गत शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेशको एकैपटक उद्घाटन गरेका थिए। अरु प्रदेशको नेतृत्व चयन भइसकेको छ।
तर, प्रदेश २ मा केही पालिकामा अधिवेशन बाँकी भएकाले पुस ३ गतेका लागि बन्दसत्र सारिएको थियो। शुक्रबार बेलुकासम्म पालिका अधिवेशन सकेर शनिबार प्रदेशको बन्दसत्र गरिने साहले बताए।
‘पालिका अधिवेशन आज बेलुकासम्म सबै सकिन्छ। भोलिदेखि प्रदेशको बन्दसत्रमा लाग्ने छौं। कूल प्रदेश समिति २७१ जना बनाउने भनिएको छ। त्यो बन्दसत्रबाट पारित हुने छ’, साहले भने, ‘त्यहीँबाट प्रदेश अध्यक्ष र पदाधिकारी शनिबारै तय गर्ने तयारीमा छौं।’
प्रदेश अध्यक्षका लागि रामकुमार शर्मा, भरत साह, दिलिप साह लगायत नेताहरुले इच्छा देखाएका छन्। सर्वसम्मत भएमा निर्वमान प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी आउने योजनामा छन्। तर, प्रतिस्पर्धा गरेर बुढाथोकी पुनःअध्यक्षमा दोहोरिने पक्षमा छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।