काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले कांग्रेसले नीति तय गर्न छुट्टै आयोजना गर्ने भनिएको नीति महाधिवेशन तीन महिनाभित्रै गर्नु उचित रहेको बताएका छन्।
शुक्रबार नेपाल लाइभसँगको अन्तर्वार्तामा उनले नीति महाधिवेशनका विषयमा छलफल भइनसकेको बताए। 'तीन महिनाभन्दा ढिलो गर्नुहुँदैन भन्ने मलाई लाग्छ', उनले भने।
उनले आफूहरु जम्मा चार वर्षका लागि आएको बताए। 'महाधिवेशनमा आ-आफ्नो व्यक्तिगत कुरा गरेर आयौं। चार वर्ष कांग्रेसलाई मार्ग निर्देशित गर्ने हाम्रो आफ्नो दस्तावेज र विचारहरु हो, त्यो त आएकै छैन', उनले भने, 'त्यसैले हामीले आनन्दपूर्वक ६/८ महिनापछि नीति महाधिवेशन गरौंला भन्यौं भने त त्यतिञ्जेल हामीले शून्यतामा काम गर्नुपर्ने हुन्छ।'
उनले महाधिवेशन सकिनासाथ तत्काल नीति महाधिवेशन गर्न नसकिने भए पनि तीन महिनाभित्र गरेर त्यसको आधारमा अगाडि बढ्नुपर्छ भन्ने आफूलाई लागेको बताए।
(थापासँगको अन्तर्वार्ता केहीबेरपछि नेपाल लाइभमा प्रकाशित हुनेछ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।