काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सभापति शेरबहादुर देउवाको नेतृत्वमा नै रूपान्तरणको अभियान चलाएर अघि बढ्ने बताएका छन्।
सहमहामन्त्रीमा निर्वाचित भएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। ‘अघिल्लो कार्यकालबाट पनि सभापतिले धेरै कुरा बुझ्नु भएको होला। हामी सहकार्य गरेर नै अघि बढ्छौं,’ उनले भने, ‘पार्टीभित्रको सुदृढीकरण गर्नु आवश्यक छ। पद्धति सुधार हुनु जरुरी छ। पात्र स्वयम नै पद्धतिभन्दा माथि हुने जुन समस्या देखिएको छ। त्यसलाई चिरेर जानुपर्ने देखिएको छ।’
पुस्तान्तरण मात्रै नभएर आफूहरुको अभियान रूपान्तरण पनि भएको भन्दै उनले नयाँ पुस्ताले अब व्यवहारमा देखाउने समय आएको बताए।
‘पार्टीभित्रको र राष्ट्रिय राजनीतिको रूपान्तरण के हो भन्ने विषयमा मार्गचित्र बनाएर इमान्दार प्रयत्नका साथ अघि बढ्नुपर्छ भन्ने हाम्रो भनाई हो,’ उनले थपे, ‘उल्लेख्यनीय संख्यामा केन्द्रीय कार्यसमितिमा रहन्छौं। प्राविधिक रुपमा कार्यसमितिमा रहौं या नरहौं सृजनशिल माध्यमबाट अघि बढ्ने हो।’
प्रतिस्पर्धामा कुडिँएका मनहरुलाई पनि जोडेर पार्टीभित्र एकताका लागि केन्द्रदेखि वडा तहसम्म नै एउटा वातावरण बनाएर जानुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।