काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना सुरु भएको छ। शनिबार बिहान १० बजेबाट थाल्ने भनिएको मतगणना केही ढिला गरि सुरु भएको हो।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले मतगणना सुरु भएको जानकारी दिए।
केन्द्रीय सदस्य (खुला)तर्फ ३५ जना निर्वाचित गर्ने व्यवस्था छ। ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन्।
गत सोमबार सम्मपन्न निर्वाचनमा कूल ४६७२ मत खसेको छ।
महाधिवेशनबाट सभापतिसहित १३ पदाधिकारी निर्वाचित भइसकेका छन्।
सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन् भने पदाधिकारीमा अधिकांश नयाँ अनुहार आएका छन्। सभापतिपछि महत्त्वपूर्ण मानिने महामन्त्री पदमा तेस्रो पुस्ताका २ नेता गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।
उपसभापतिमध्ये १ जना नयाँ व्यक्ति नै आएका छन्। यसअघि पार्टी सभापतिले मनोनित गर्ने उपसभापति पदमा पहिलोपटक महाधिवेशन (निर्वाचन)बाट चुनिएका व्यक्ति आएका हुन्।
सभापतिमा दोहोरिएका देउवाको प्यानलबाट बहुमत सदस्य पदाधिकारीमा निर्वाचित भएका छन्। तर, महत्त्वपूर्ण पदमा भने उनीइतर पक्षका नेताहरु निर्वाचित भएका छन्।
देउवा पक्षबाट पदाधिकारीमा सभापति १, उपसभापति १ र सहमहामन्त्री ६ जना निर्वाचित भएका छन्। देउवाइतर (शेखर कोइराला) पक्षबाट उपसभापति १, महामन्त्री २ र सहमहामन्त्री २ जना निर्वाचित भएका छन्।
त्यस्तै केन्द्रीय सदस्यमा देउवा पक्षबाट दुई जना निर्वाचित भइसकेका छन्। प्रदेश २ बाट चित्रलेखा यादव र पिछडिएको क्षेत्रबाट अर्जुनजङ्ग बहादुर सिंह विजयी भएका हुन्
यस्तो बन्यो कांग्रेस पदाधिकारीको टीम :
सभापति : शेरबहादुर देउवा
उपसभापति :
पूर्णबहादुर खड्का (देउवा पक्ष)
धनराज गुरुङ (शेखर कोइराला पक्ष)
महामन्त्री :
गगनकुमार थापा (शेखर पक्ष)
विश्वप्रकाश शर्मा (प्रकाशमान सिंह पक्ष)
सहमहामन्त्री :
देउवा पक्ष :
-डिना उपाध्याय (महिला)
-भीष्मराज आङदेम्बे (आदिवासी जनजाति)
-फरमुल्लाह मन्सुर (मुस्लिम)
-किशोर सिंह राठौर (खस आर्य)
-उमाकान्त चौधरी (थारू)
-महेन्द्र यादव (मधेशी)
शेखर पक्ष :
-जीवन परियार (दलित)
-बद्री पाण्डे (पिछडिएको क्षेत्र)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।