काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। सोमबारको बन्दसत्रमा प्रस्तुत गरिएको ४५ पृष्ठको प्रतिवेदनमा उनले पार्टीका तात्कालिन नीति, योजना र कार्यक्रमको रुपरेखा प्रस्तुत गरेका छन्। समायोजनको रणनीति र समाजवाद उन्मुख समृद्धिको कार्यनीति अन्तर्गत जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण गर्न तत्कालीन नीति, योजना र कार्यक्रम प्रस्तुत गरेका हुन्।
राष्ट्रिय सम्मेलनद्वारा पारित विचारलाई सिंगो पार्टी पंक्तिमा बुझाइको एकरुपता कायम गर्ने उद्देश्यका साथ तलसम्म प्रशिक्षण सञ्चालन गर्ने, मुखपत्र लगायतका पार्टी प्रकाशन र स्कुलिङलाई नियमित रुपमा सञ्चालनको व्यवस्था गर्ने सोसल मिडियाको अधिकतम उपयोग गर्ने प्रतिवेदनमा उल्लेख छ।
कुनै पनि स्तरका निर्वाचित पदाधिकारीले पार्टीको हित अनुसार काम नगरेमा वा गर्न नसकेमा कमिटिले फिर्ता बोलाउन सक्ने र कमजोरीको प्रकृति अनुसार अनुशासनको कारबाही गर्ने प्रस्ताव पनि गरिएको छ।
पार्टीका तात्कालिन नीति, योजना र कार्यक्रमको रुपरेखा
समायोजनको रणनीति र समाजवाद उन्मुख समृद्धिको कार्यनीति अन्तर्गत जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण गर्न तत्कालीन नीति, योजना र कार्यक्रम प्रस्तुत गरिएको छ।
(क) पार्टी:-
i. राष्ट्रिय सम्मेलनद्वारा पारित विचारलाई सिंगो पार्टी पक्तिमा बुझाईको एकरुपता कायम गदर्ने उद्देश्यका साथ तलसम्म प्रशिक्षण सञ्चालन गर्ने। मुखपत्र लगायतका पार्टी प्रकाशन र स्कूलिङ्गलाई नियमित रुपमा संचालनको व्यवस्था गर्ने सोसल मिडियाको अधिकतम उपयोग गर्ने।
ii. संगठनात्मक रुपले पार्टीलाई जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार सञ्चालन गर्न जोड लगाउने। जनवादी केन्द्रीयताको सिद्धान्त र पार्टीको विधि विधानको पालना गर्ने, गराउने कुरालाई उच्च प्राथमिकता दिने। त्यस अनुसार सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी, अभिव्यक्तिमा स्वतन्त्रता र कामकारबाहीमा एकरुपता सामूहिकताको केन्द्रीकृत अभिव्यक्तिका रुपमा नेतृत्व निर्माण, रक्षा, विकासमा जोड गर्ने। व्यक्ति कमिटिको, तल्ला कमिटि माथिल्लो कमिटि र सबै सदस्यहरु महाधिवेशनको मातहत रहने मान्यताहरुलाई पालना गर्ने गराउने काममा जोड दिने।
iii. केन्द्रीय कमिटिदेखि टोल, सेल कमिटिसम्म आलोचना आत्मआलोचनाको प्रक्रियालाई पुनर्स्थापित गर्ने। कमिटी आज निकै ठूला र भारीभरकम रहेको स्थितिलाई ध्यान दिई प्रत्येक कमिटिकै बैठक अन्त्यमा पदाधिकारीहरुको एक-एक गरि आलोचना आत्मालोचना गराउने बाँकी सदस्यहरुको हकमा सबैलाई कसैको बारेमा केही आलोचना गर्नै पर्नेछ भने त्यो अवसर दिने। पार्टीमा अनुशासन, विधि र व्यवस्थापनलाई प्रभावकारी रुपले कार्यन्वयन गर्न पार्टीका केन्द्रीय निकायहरुले विशेष ध्यान दिन र जोड लगाउन पर्नेछ। कुनै पनि स्तरका निर्वाचित पदाधिकारीले पार्टीको हित अनुसार काम नगरेमा वा गर्न नसकेमा कमिटिले फिर्ता बोलाउन सक्ने र कमजोरीको प्रकृति अनुसार अनुशासनको कार्यवाही गर्ने।
iv. पार्टीका नेता कार्यकर्ताहरुलाई उत्पादन, श्रम एवं श्रमिक जनसमुदायसँग जोड्न सबै तहका पार्टी कमिटिहरुले आ-आफ्नी स्तरमा ठोस कार्य-योजना बनाई कार्यन्वयन प्रक्रियालाई अगाडि बढाउने। त्यसो गर्दा समुदायको विकास निर्माणको आवश्यकता र उत्पादन वृद्धिका कामलाई विशेष ध्यान दिने। यो प्रक्रियालाई पार्टी र जन- समुदायको सांस्कृतिक रुपान्तरण एवं चेतना अभिवृद्धिका कार्यक्रमहरुसँग जोडेर लैजाने । यस प्रक्रियामा कमरेड माओले एउटा एकाइको शल्यक्रियाबाट समग्रको ज्ञान प्राप्त हुन्छ भने झैं प्रत्येक केन्द्रीय र प्रदेश सदस्यसममले एउटा निश्चित वार्ड वा उत्पादन इकालाई नमूनाको रुपमा विकास गर्ने ।
v. प्रत्येक कमिटि र सदस्यहरुले आर्थिक अनुशासन र पारदर्शिता कायम राख्न विशेष जोड गर्ने। कमिटिका बैठकहरुमा (कम्तिमा ६ महिनामा एकपटक) आर्थिक हिसाब प्रस्तुत गर्ने, लेबी कोटा नियमित गर्ने तथा लेखा दुरुस्त पार्न जोड गर्ने । पार्टी र जनसमुदायमा समेत भ्रष्टाचार विरोधी अभियान चलाउने। समाजवाद उन्मुख आधार निर्माण गर्ने इकाइका रुपमा स्थानीय स्तरमा सामुहिक उत्पादन टोली, सामुहिक श्रम टोली बनाइ कामलाई अगाडि बढाउने। यो प्रक्रियाबाट गरिबी, अभाव र संकटमा रहेका कार्यकर्ताहरुको संरक्षण कोष खडा गर्ने।
vi. पार्टी सुदृढीकरण र विस्तारको अभियानलाई नियमित रुपमा सञ्चालन गर्ने। तत्काल एक टोल तीन सेल र अधिकतम जबस कमिटिहरु बनाउने उद्देश्यका साथ स्थानीय पार्टीले योजनाबद्ध रुपमा काम अगाडि बढाउने।
vii. सांस्कृतिक रुपान्तरणको प्रश्न कान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको अनिवार्य सर्त हो। पार्टीका नेता कार्यकर्ताको दैनिक आचरण, सम्पर्क सम्बन्ध, जीवन पद्धति, लबाईखुवाई, यौन जीवन, आर्थिक र पारिवारिक सम्बन्ध, विज्ञानको ज्ञान, वर्ग चेतना, श्रम उत्पादन, अध्ययन अनुसन्धान, नेता, कार्यकर्ता र जनताका बीचको सम्बन्ध, वैयक्तिक सामूहिक र सार्वजनिक जीवन आदिका रुपमा पार्टी सांस्कृतिक स्तर र पहिचान अनि व्यक्त भइरहेको हुन्छ।
जनताले आज हाम्रो पार्टी अन्य पार्टीहरुमा खासै भिन्नता देखिरहेको छैन। कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो छ। यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृति सहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन। अतः सांस्कृतिक रुपान्तरणको विषयलाई प्रत्येक कमिटिले विचार, राजनैतिक, संगठन र आचारणको तहबाट गम्भीर बहस छलफल सहित साझा निश्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनाबद्ध पहल गर्नुपर्दछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।