काठमाडौं– नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा जारी छ। राष्ट्रिय सम्मेलन गर्ने भनेर सुरु भएको तयारी एकाएक महाधिवेशनमा रुपान्तरण हुँदै अहिले तेस्रो दिनको छलफल चलिरहेको छ।
महाधिवेशनमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेको छ। अध्यक्ष प्रचण्डको प्रतिवेदनमा छलफल गर्न २५ समूह बनाइएको छ। आज दिनभर प्रतिनिधिहरुले समूहगत छलफल गरेर प्रतिवेदनमा सुझाव दिएपछि त्यसलाई समेटेर अन्तिम रुप दिइने छ।
माओवादीले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने छ। यसरी चयन हुने नेतृत्वमा अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै आउने निश्चित देखिन्छ।
अन्य पार्टीमा नयाँ पुस्ताको नेतृत्वबारे बहस भए पनि माओवादीमा भने प्रचण्ड निर्विकल्प देखिएका हुन्। महाधिवेशन प्रतिनिधिहरुले पनि अहिले पार्टीको आवश्यकता प्रचण्ड नै भएको बताइरहेका छन्।
'जनयुद्ध'पछि शान्ति प्रक्रियामा आउँदाको जस्तो आकर्षण र रापताप माओवादीमा नभएको स्वयं प्रचण्डले पनि स्वीकार गरेका छन्। आफ्नो प्रतिवेदनमा प्रचण्डले पार्टीका कमजोरीबारे पनि उल्लेख गरेका छन्।
शान्ति प्रकृयामा आएपछिको १५ वर्षमा ११ वर्ष सरकारमा गए पनि माओवादीले जनतामा आफूहरुले त्यसअघि गरेको वाचा अनुसारको काम गर्न नसकेको भनेर सबभन्दा धेरै आलोचना माओवादीभित्रै भइरहेको छ। प्रचण्ड र माओवादीलाई साथ छाडेकाहरुले संसदीय दलदलमा माओवादी भासिएको र सत्ताको खेलमा लागेको आरोप लगाइरहेका छन्।
नेकपा एमालेसँगको एकिकरण र विभाजनपछि भएको माओवादीको महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले अब माओवादी पहिलाको जस्तै 'रापतापयुक्त' हुनुपर्ने बताइरहेका छन्।
प्रतिनिधिहरु माओवादी अब सच्चिएर जानुपर्ने बताउँदै माओवादीबाट छुट्टिएका र अन्य वामपन्थी पार्टीहरुलाई मिलाएर शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने सम्भावना अझै रहेकाले त्यसको नेतृत्व माओवादीले गर्नुपर्ने बताउँछन्।
माओवादी पार्टीको महाधिवेशन, प्रतिनिधिको अपेक्षा, आगामी दिनमा पार्टीको भूमिका लगायतका विषयमा नेपाल लाइभकर्मी पुष्पा केसीले महाधिवेशनस्थल प्रज्ञा भवन पुगेर माओवादी केन्द्रका प्रतिनिधिहरुसँग कुराकानी गरेकी छन्। महाधिवेशन प्रतिनिधिहरुको भनाई जस्ताको तस्तैः
धावा लामा, रामेछाप
हामीले पार्टीलाई २०६४ मै फर्काउनका लागि शुद्धीकरण गर्नुपर्छ। संगठनदेखि विचारसम्म परिमार्जन हुनुपर्छ। समयसापेक्ष निर्णय गरेर जानुपर्छ। पार्टीको कार्यदिशा प्रष्ट पारेर जानुपर्छ। जाने समाजवादमा नै हो, त्यसको प्रष्ट बाटो बनाउनुपर्छ।
अहिले हामीले नेतृत्वमा अरुलाई विकल्पमा देखेका छैनौं। जनयुद्धदेखि बाँकी कार्यभार पूरा गर्ने प्रचण्ड नै हो। उहाँपछिका नेताहरु तयार भइरहनु भएको छ। त्यसपछि युवाहरु अघि बढ्ने छन्। प्रचण्डको विकल्प नभएको भन्ने कुरा चाहिँ सत्य होइन। त्यो समय र परिस्थिति अनुसार हो। माओवादीमा युवा नेताहरु एकसेएक छन्। दुई सयजना भन्दा धेरैको केन्द्रीय समिति बन्दैछ।
यहाँ धेरै नेताहरु हुनेछन्। ती सवै नेतृत्वको दाबी गर्ने खालका छन्। २०६३ सालतिर पार्टीमा आर्कषण थियो। त्यो समय भर्खर जनयुद्धबाट आएको समय थियो। त्यो आर्कषणमा फिरन्तेहरु पनि थिए। ती मानिसहरु कहिले कांग्रेस, एमाले र राप्रपा भइरहेका छन्। यो भइरहन्छ। यो महाधिवेशनबाट जनताको मन छुने कार्यक्रम लिएर आएपछि फेरि माओवादी केन्द्रमा जनता गोलबन्द हुन्छन्।
भुपाल पोखरेल, गुल्मी
अहिले हामी आठौं महाधिवेशनमा जुटिरहेका छौं। अध्यक्ष प्रचण्डले पनि आत्मसमीक्षा सहितको प्रतिवेदन पेस गर्नु भएको छ। पार्टीलाई सबल बनाउने गरि प्रतिवेदन आएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा फेरि पनि माओवादीमा त्यही आर्कषण कायम राख्न सकिन्छ। म यसलाई आर्कषण घटेको त भन्दिन, तर माओवादी आन्दोलन विभिन्न समूहमा विभाजन भए त्यसले असर पारेको हो।
शान्तिवार्तामा आएपछि दुईवटा कुरा अघि सार्दा अन्योल भएर केही असहज भएको हो। अध्यक्ष प्रचण्डको प्रतिवेदनमा पनि यो कुरा आएको छ। मूल कुरा स्पष्ट कार्यदिशा नभएका कारण समस्या भएको हो।
अब आठौं महाधिवेशनबाट समाजवादी आन्दोलन गर्ने पार्टी माओवादी बन्ने छ। बाहिर रहेका साना वामपन्थी पार्टीहरुलाई पनि साथमा लिएर माओवादी केन्द्र अघि बढ्ने छ। नेतृत्व पुस्तान्तरणको कुरा गर्दा अरु पार्टी र हामीबीचमा फरक छ। हाम्रो इतिहास पनि फरक छ।
क्रान्तिको जिम्मेवारी अझै पूरा नभएकाले मुख्य नेतृत्व यही चाहिन्छ भन्ने छ। हाम्रो विधानले सवै क्षेत्रलाई समेटेर केन्द्रीय सदस्य बनाउने भनेको छ। यहीबाट नेतृत्व विकास हुन्छ र आन्दोलन गर्न सक्षम नेतृत्व तयार हुन्छ। नयाँ नेतृत्व भरोसायोग्य नदेखिएको भन्दा पनि नयाँ नेतृत्व तयार हुँदै छ। नेतृत्व भन्ने कुरा रातारात तयार हुने होइन। अहिले पनि २० प्रतिशत ४० वर्ष भन्दा कम उमेरका पार्टीमा आउँदैछन्। प्रदेशहरुमा युवा नेतृत्व आएको छ। अब समृद्धिको लडाई भएकाले यसको नेतृत्व प्रचण्डले नै गर्नुपर्छ।
लिला शर्मा ‘अस्मिता’, लुम्विनी प्रदेश
सवैभन्दा युवा पुस्ता नेतृत्वमा भएको पार्टी माओवादी हो। कांग्रेस र एमालेका अध्यक्षहरु विगतमा हामीले देखेकै हो। युवाहरु नै यहाँको नेतृत्वमा रहेका छन्। युवाहरुले नै जनयुद्ध लडेका थिए र अहिले पनि उनीहरुकै नेतृत्व रहेको छ।
माओवादीमा अध्यक्षको विकल्प तयार भएको छैन भन्ने देखिएको छ। नेतृत्व भनेर मात्र हुँदैन। विचार र राजनीतिक रुपमा नेतृत्व आउनुपर्ने हुन्छ। धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा प्राप्त उपलव्धी रक्षा गर्न अहिलेकै नेतृत्व सबल र सक्षम छ।
माओवादी केन्द्रिकृत भएर आफ्नो मुद्दा स्थापित गरेको पार्टी हो। प्रचण्डको विकल्प नदेखिएकाले नै फरक दस्तावेज नआएको देखिएको छ। सिङ्गो राज्यसत्ता नै हल्लाउने गरि सशस्त्र युद्ध गरेको माओवादी अहिले कमजोर भएको भन्ने कुरा सत्य होइन।
अहिले माओवादीको रापताप सकिएको भन्न मिल्दैन। त्यसलाई कसले कसरी हेर्छ भन्ने कुराले फरक पार्छ। निर्वाचन भन्ने कुरा एकपटक एउटा पार्टीको पक्षमा र अर्कोपटक अर्कोमा जाने देखिएको छ।
एक पटक त हामीले पनि झण्डै बहुमत सिट ल्याएको हो नि। तर, जनताले माओवादीले संविधान जारी गर्न सकेन कि भनेर शंका गरेर अन्त मत दिए।
हाम्री बिग्रेको, स्खलन भएको होइन। विचार र व्यवहार बराबर हुँदैन। यसमा विज्ञानले पनि मिलाउन सक्दैन। हामी गरिब मुलुकमा यस्तो समाजवादको परिकल्पना गर्दा कहिलेकाहीँ ठेस लाग्छ। हामी ठिकै ठाउँमा छौं।
दुर्गाकुमार विश्वकर्मा, कास्की
अहिलेको आवश्यकता नै प्रचण्ड हो। माओवादीको नेतृत्वका लागि उहाँ सवै हिसाबले सक्षम हो।
सर्वसम्वत रुपमा नै उहाँलाई जिम्मेवारी दिनुपर्छ। युवापुस्ता आइरहेका छन्। तर, पनि अहिलेको आवश्यकता प्रचण्ड नै हो। माओवादीमा नेतृत्व तयार नै नभएको होइन। हामीबीचमा समय-समयमा फुट आयो जसका कारण हामी कमजोर भयौं। अहिलेको आवश्यकता भनेको वामपन्थी पार्टीहरुका बीचको एकता हो।
यसपछि नयाँ नेतृत्वलाई नेतृत्व हस्तान्तरण गरिनुपर्छ। यदि यो होइन भने फरक नेतृत्वका लागि पनि हामी तयार हुनुपर्छ। माओवादी केन्द्र शिथिल भयो कि भन्ने आशंका छ, तर यो सत्य होइन। हिजो युद्धदेखि राजालाई बहिर्गमन गराएर गणतन्त्र ल्याउने अजेण्डा माओवादी केन्द्रको हो। यो आठौं महाधिवेशनमा नयाँ नेतृत्व र नयाँ अनुहार आउने छ। यसले झन् सक्रिय भएर लाग्ने उर्जा दिने छ।
२०६४ सालमा हामी निर्वाचनबाट सवैभन्दा ठूलो पार्टी भएको हो। हामीले जनतालाई घात गरेर गएका छैनौं। हिजो हामी सदनमा थियौं। अहिले सडक र सदन दुवैमा छौं। हामीले जनताले गरेको अपेक्षा पूरा गर्न सकेनौं तर, निराश नै हुनुपर्ने काम गरेका छैनौं। हामी माओवादीलाई सक्रिय रुपमा अघि बढाउने प्रयास जारी राखेका छौं। यो आठौं महाधिवेशनपछि यसमा झन् शक्तिशाली भएर अघि बढ्ने छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।