काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सोमबार राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमा बुझाइको एकरुपता कायम गर्ने कुरामा जोड दिएका छन्।
पूरक प्रस्ताव राखेका राम कार्कीले ब्रम्हाण्डका हरेक वस्तुभित्र विपरीत तत्व हुने कुरा पार्टीले बिर्सिने गरेको भन्दै काउन्टर गरेका छन्। दुईलाइन संघर्षले मात्रै पार्टीलाई जीवन्त राख्नेमा उनले जोड दिएका छन्।
प्रचण्ड भन्छन्, 'राष्ट्रिय सम्मेलनद्वारा पारित विचारलाई सिंगो पार्टी पंक्तिमा बुझाइको एकरुपता कायम गदर्ने उद्देश्यका साथ तलसम्म प्रशिक्षण सञ्चालन गर्ने।' कार्कीको बुझाइ छ, ' ब्रम्हाण्डका हरेक वस्तुभित्र विपरीत तत्वहरु रहेका हुन्छन्। पार्टी पनि विपरीतहरुको एकत्व हो भन्ने ज्ञानलाई जीवन व्यवहारमा पार्टीले विर्सने गरेको छ।'
सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी, अभिव्यक्तिमा स्वतन्त्रता र कामकारवाहीमा एकरुपता सामूहिकताको केन्द्रीकृत अभिव्यक्तिका रुपमा नेतृत्व निर्माण, रक्षा, विकासमा जोड गर्ने प्रचण्डले बताएका छन्।
नेतृत्वको 'रक्षा' जोड गर्ने प्रचण्डको भनाइमा राम कार्कीले माओको दुईलाइन संघर्ष सम्झाएका छन्। उनी भन्छन्, 'माओको सततः क्रान्तिको सिद्धान्तअनुसार राजनीतिक अधोपतनका विरुद्ध स्थायी सुरक्षा उपाय भनेकै दुईलाइन संघर्ष हो। यसप्रतिको हाम्रो अरुची जगजाहेर छ। बेला कुबेला केही नेताहरु यसलाई अर्थात् दुईलाइन संघर्षलाई पार्टीलाई जीवन्त र विकसित पार्ने साधन होइन, निजी आकांक्षाहरुको निम्ति मोलमोलाइको साधन ठान्दछन्। बेला-कुबेला दुईलाइन संघर्षको हतियार देखाएर आफ्नो मनसुवा पूरा गर्दछन्।'
'हरेक पटक अन्तरविरोधहरु सतहमा आउन लाग्दा यो बेलामा अन्तरविरोध चर्किदा पार्टीलाई गम्भीर क्षति हुन्छ भन्ने गरिन्छ। अहिले पनि उपचारको पूरानै विधि अपनाउन थालेको छाँट देखिन्छ' उनले भनेका छन्।
खटिरालाई क्यान्सर हुनदिने यो प्रवृत्ति त्याग्नु पर्दछ। सामाजिक वर्गबीचको विरोधलाई समस्याको रुपमा बुझ्न र व्यवहार गर्न बन्द गर्नुपर्ने तर्क कार्कीको छ।
प्रचण्डले वर्ग विभेदलाई प्रतिवेदनमा महत्त्व दिएका छन्। कार्कीको भनाइ छ, 'वर्गको स्वार्थलाई अर्थात् वर्गीय दृष्टिकोण त्याग्दा अन्यविरोधहरु जातीय, क्षेत्रीय, लैंगिक, धार्मिक, सांस्कृतिक लगायतका विषयहरु बेस्सरी गिजोलिएका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।