काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आठौं राष्ट्रिय महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा हरेक पालिकामा कम्तिमा ५० जना संलग्न हुने गरि अनिवार्य रुपमा एक कृषि उद्योग ६ महिनाभित्र स्थापना गर्ने उल्लेख गरेका छन्।
अध्यक्ष प्रचण्डले यस्तो कार्यका लागि पार्टीमा विभाग नै बनाउने र त्यो अध्यक्ष मातहत रहने प्रस्ताव गरेका छन्। ‘त्यसका लागि शक्तिशाली उद्यम/व्यवसाय परिचालन विभाग अध्यक्षको मातहत राख्ने र हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन ती स्थापित कृषि फार्म वा उद्यममा श्रम गर्नेुपर्ने छ’ प्रचण्डको प्रतिवेदनमा भनिएको छ।
राजनीतिक दलका कार्यकर्ताहरुले श्रम विनानै गलत कार्यबाट आम्दानी गर्ने गरेका कारण राजनीति नै बदनाम भएको भनि आलोचना भइरहेको कुरालाई सम्बोधन गर्न प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा उत्पादनको शीर्षकमा यस्तो प्रस्ताव गरेका हुन्।
प्रचण्डले प्रतिवेदनमा त्यस्तो उद्योग स्थानीय स्रोत, बजार प्रविधि, दक्ष जनशक्तिलाई ख्याल गरेर स्थानीय तहमा नै तय गर्ने उल्लेख छ। त्यस्तै खाद्यान्न, पशुपालन, फलफूल, तरकारी नगदेबाली, घरेलु तथा साना उद्योग वा अन्य अजनात्मक काम हुन सक्ने जमिन चक्लाबन्दी गरी किसानको स्वामित्व कायम रहने र उनीहरु समेत सेयरधनी हुने गरी कम्पनी वा सहकारी वा साझेदारीमा त्यस्ता व्यवसाय सञ्चालन हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।
दुई वा दुई भन्दा धेरै पालिका मिलेर पनि गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। अलि ठूलो परिणममा काम गर्न चाहेमा दई वा दुईभन्दा बढी पालिकाले संयुक्त रुपमा वा समन्वयमा त्यस्तो उद्यम/व्यवसाय गर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
राज्यले प्रदान गर्ने सहुलियत, सुविधिा र पूर्वाधार निर्माणमा पालिका, जिल्ला, प्रदेश र केन्द्रले सूचना सम्प्रेषण, समन्वय सहजीकरण तथा सहयोग जुटाउन पहल गर्ने र जिल्ला तहमा पालिका स्तरका उद्यमबीच समन्वय गर्ने र पालिका स्तरमा चाहिने प्राविधिक तथा बजार व्यवस्थापनमा सघाउने व्यवस्था मिलाउने प्रतिवेदनमा भनिएको छ।
प्रदेशले जिल्ला स्तरबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग, अन्तरजिल्ला समन्वय र बजारीकरणको काम गर्ने र प्रदेशले कम्तीमा १०० जनालाई प्रत्यक्ष रोजगारी दिने गरी एक कृषि प्रशोधन तथा बजार केन्द्र, चिस्यान केन्द्र सम्बन्धी उद्योग स्थापना गर्ने प्रतिवेदनमा भनिएको छ। केन्द्रमा केन्द्रीय स्तरको प्रशोधन केन्द्र, चिस्यान केन्द्र र एक बजारका व्यवस्था गर्ने प्रतिवेदनमा उल्लेख छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।