काठमाडौं- नेकपा माओवादीको आठौं महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेतृत्व (प्रचण्ड)को उदारवादी कमजोरीका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले जाल बुन्ने अवसर पाएको निष्कर्ष निकालिएको छ।
प्रचण्डद्वारा प्रस्तुत उक्त प्रतिवेदनमा आगामी दिनमा सिंगो पार्टी यस प्रकारका उदारवादी कमजोरी सच्च्याउन विशेष सजग र सर्तक रहन जरुरी भएको समेत उल्लेख छ।
राजनीतिक प्रतिवेदन र विधान लागू गर्नेदेखि एकताका बेलामा संगठन र सरकार सञ्चालनबारे भएका सहमति कार्यान्वयनमा समेत उदारवादी कमजोरी भएको प्रतिवेदनमा स्वीकारिएको छ। राजनीतिक प्रतिवेदन र विधानको मूल स्पिरिट मात्र होइन, एकता प्रक्रिया महाधिवेशन नहुँदासम्म समान हैसियतका दुई अध्यक्ष रहने र उनीहरुले आलोपालो गरेर बैठकको अध्यक्षता गर्ने र सरकारको नेतृत्व पनि समान अवधिका आधारमा आलोपालो गर्ने सहमति भएको समेत खुलाइएको छ। तर, प्रचण्डले यसमा उदारता दर्शाउँदा ओली हाबी भएको महसुस माओवादीले गरेको छ।
'एमाले र माओवादी केन्द्रको एकतापछि सहमति कार्यान्वयन गर्दा नेतृत्वका तर्फबाट बेलाबखत हुन गएका उदारवादी कमजोरीका कारण ओली प्रवृत्तिलाई आफ्नो षड्यन्त्रको जाल बुन्ने अनावश्यक अवसर दियो। आगामी दिनमा सिंगो पार्टी यस प्रकारका उदारवादी कमजोरी सच्च्याउन विशेष सजग र सर्तक रहन जरुरी छ,' प्रतिवेदनमा भनिएको छ।
राजनीतिक प्रतिवेदन, विधान र संगठनात्मक व्यवस्थापनको सहमतिले एकता प्रक्रियालाई सही सावित गरेको उल्लेख छ। 'केपी ओलीको चरम व्यक्तिवादी अहंकार सहमतिका विपरीत निरंकुश ढंगले पार्टी र सरकार चलाउने धृष्टता एवं उनमा रहेको मार्क्सवाद विरोधी सामन्ती, दलाल, पूँजीवाद र वैदेशिक प्रतिक्रियावादका अगाडि आत्मसमर्पण गर्ने चरित्रका कारण पार्टीभित्र चरम गुटबन्दी अस्वस्थ अन्तरसंघर्षकोको विकास भयो,' प्रचण्डले भनेका छन्।
यो अन्तरसंघर्षको प्रक्रियामा आफ्नो पराजय निश्चित देखिएपछि ओली गुटले संविधान नै खारेज गर्ने नियतका साथ प्रतिनिधि सभा विघटन गर्न पुगेपछि अन्तरसंघर्ष शत्रुतापूर्ण अन्तरसंघर्षमा बदलिएको प्रचण्डको बुझाइ छ। प्रचण्ड थप्छन्, 'त्यस्तो विषम परिस्थितिमा पनि पार्टीले एकताको रक्षा गर्न र ओलीका गलत विचार, प्रवृत्ति र कार्यशैली सच्च्याउन पार्टीले अन्तिमसम्म प्रयास गर्यो। तर, ओली गुट झन् पछि झन् पार्टी अनुशासनको खिल्ली उडाउँदै प्रतिगमनको यात्रामा अगाडि बढे।'
अदालत, आयोग र संसद् सचिवालयलाई आरोप
प्रतिवेदनमा अदालतको अस्वाभाविक राजनैतिक फैसलाका कारण पार्टी एकता असफल तुल्याइएको बताइएको छ। ओलीलाई पार्टी सदस्यताबाटै निकालेर जित नजिक पुगिसकेको अवस्थामा तात्कालीन निर्वाचन आयोग र संसद् सचिवालयले जानीबुझी गरेको ऐन र नजिर विपरीत क्रियाकलाप गरेको आरोप प्रचण्डको छ।
'त्यो परिस्थितिमा केन्द्रीय समितिको दुई तिहाइभन्दा बढीको बहुमतले उनलाई पार्टी सदस्यताबाट निष्कासित गर्यो भने संसदीय दलको बहुमतले उनलाई दल नेताबाट निष्कासन गर्यो,' प्रचण्डको भनाइ छ, 'आधिकारिक र वैधानिक रुपले गरिएको उपरोक्त निर्णयलाई निर्वाचन आयोग र संसद् सचिवालयले जानीबुझी गरेको ऐन र नजिर विपरीतको क्रियाकलाप र अन्त्यमा अदालतको अस्वाभाविक राजनैतिक फैसलाका कारण पार्टी एकता असफल तुल्यायो।'
एकता असफल भएपनि ओली प्रवृत्तिको विरुद्धमा संघर्ष गर्दै वृहद् कम्युनिस्ट एकताको आवश्यकता कायम नै रहेको बताइएको छ। आफ्नो पार्टी अहिले पनि एकताको पक्षमा रहेको र रहिरहने उल्लेख गरिएको छ।
'विभिन्न माओवादी समूह र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) सँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ,' प्रतिवेदनमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।