काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रस्तावमाथि छलफलको समय भोलिसम्मका लागि लम्ब्याएको छ। भोलि अपराह्न १२ बजेसम्म समूहगत छलफलका लागि समय निर्धारण गरिएको पार्टीको प्रचारप्रसार उपसमितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
'अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन्। बाँकी समूहले बुधबार अपराह्न १२ बजेभित्र छलफल सक्ने छन्। समूहगत छलफलका लागि मंगलबार दिनभर समय दिइएकोमा बुधबार अपराह्न १२ बजेसम्मको समय थप गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।
बुधबार अपराह्न १ बजेबाट महाधिवेशनस्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने छन्। प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ।
सोमबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्ताव पेस गरेका थिए। दुवै प्रस्तावमाथि मंगलबार समूहगत छलफल गरिएको थियो। छलफलका लागि सोमबार २५ वटा समूह गठन गरिएको थियो। उनीहरुले प्रज्ञा भवनदेखि विभिन्न पार्टी प्यालेसमा छलफल गरेका थिए।
प्रेस विज्ञप्तिको पूर्णपाठ:


प्रेस नोट
नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र दोस्रो दिन (मंगलबार) पनि जारी रह्यो। बन्द सत्रको दोस्रो दिन भएका गतिविधि र बन्द सत्रको बाँकी कार्यक्रमका बारेमा सार्वजनिक जानकारी गराउन यो प्रेस नोट जारी गरिएको छ।
१. आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामा मंगलबार दिनभर समूहगत छलफल भयो। समूहगत छलफलका लागि सोमबार २५ वटा समूह गठन गरिएको थियो।
२. अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन्। बाँकी समूहले बुधबार अपरान्ह १२ बजेभित्र छलफल सक्नेछन्। समूहगत छलफलका लागि मंगलबार दिनभर समय दिइएकोमा बुधबार अपरान्ह १२ बजेसम्मको समय थप गरिएको छ।
३. समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिहरुले अध्यक्ष क. प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझावहरु राख्नुभएको छ।
४. बुधबार अपरान्ह १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नुहुनेछ। प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ।
१३ पुस २०७८
प्रचार प्रसार उपसमिति
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
आठौं राष्ट्रिय महाधिवेशन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।