काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको अनुसन्धान निष्कर्षमा पुर्याउन ‘विशेष अनुसन्धान टोली’लाई निर्देशन दिएका छन्। सोमबार अनुसन्धानको प्रगतिबारे ‘ब्रिफिङ’ गर्न गएको टोलीलाई प्रधानमन्त्री ओलीले अनुसन्धानलाई छिटो टुंग्याउन निर्देशन दिएका हुन्।
चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको अनुसन्धान टोलीले छुट्टाछुट्टै ब्रिफिङ गरेको हो। सुन तस्करीमा केही ठूला व्यापारी तथा केही अवकाशप्राप्त प्रहरीहरुको संलग्नता रहेको खुलेपछि ‘बिफ्रिङ’ भएको हो।
प्रधानमन्त्री र गृहमन्त्री दुवै जना चीन भ्रमणमा रहेका बेला टोलीले भारतीय व्यापारी विमल पोद्दारलाई पक्राउ गरेको थियो। उनीसँग धेरै ठूला व्यापारी तथा पूर्व प्रहरी अधिकारीहरुको सम्बन्ध देखिएपछि टोलीले ‘बिफ्रिङ’ गरेको हो।
विगतमा ब्रिफिङ गर्दा प्रधानमन्त्रीले तस्करीमा संलग्न जोसुकै व्यक्ति भए पनि नछाड्न भन्दै टोलीलाई प्रोत्साहन दिएका थिए। तर, यसपटक आफूहरुले त्यस्तो प्रोत्साहन पाउन नसकेको टोलीका एक अधिकारीले बताए।
‘प्रधानमन्त्रीज्यूले असारभित्रै अनुसन्धान पूरा गर्नतर्फ जोड दिनुभएको छ’, टोलीका एक सदस्यले नेपाल लाइभसँग भने, ‘तर उच्च तहका व्यक्तिमाथि भर्खर अनुसन्धान सुरु भएकाले असारभित्र टुंग्याउन गाह्रो छ।’
ठूला व्यक्तिहरु पर्ने देखिएपछि अनुसन्धान टोलीमाथि अनुसन्धान छिटो टुंग्याउन अप्रत्यक्ष रुपमा दबाव आउन थालेको स्रोत बताउँछ। अनुसन्धान टोलीको म्याद जेठ अन्तिममा सकिएपछि सरकारले असार मसान्तसम्मका लागि म्याद थपेको थियो।
पोद्दारले लिए प्रहरी र नेताको नाम
गत साता पक्राउ परेका भारतीय व्यापारी विमल पोद्दारले आफू हुन्डी कारोबारमा संलग्न भएको स्वीकार गरे पनि सुन तस्करीमा संलग्नता भने अस्वीकार गरेका छन्। प्रहरी र नेताहरुसँगै मिलेर हुन्डीको कारोबार गरेको उनले स्विकारेका छन्।
स्रोतका अनुसार, पोद्दारले हुन्डी कारोबारमा केही प्रहरीले आफूलाई संरक्षण दिएको बताएका छन्। महानगरीय अपराध महाशाखामा उपेन्द्रकान्त अर्याल आउनुभन्दा अगाडि मासिक रुपमा पैसा बुझाउने गरेको उनले बताएका छन्। प्रहरी अधिकृतहरुलाई मोबाइल फोन उपहार दिएको उनको भनाइ छ। एक पूर्व एआइजीका लागि घरमा म्याट्रेस लगायतका सामान किनिदिएको समेत अनुसन्धान टोलीसँगको बयानमा उनले बताएका छन्। यसका साथै नेपालका केही ठूला व्यवसायीसँग आफ्नो साझेदारीबारे जानकारी दिएका छन्।
पोद्दार डिल्लीबजारमा रहेको सिल्भर सिटी अपार्टमेन्टका मालिक हुन्। सोही अपार्टमेन्टमा उनले 'एड्रेस' नामक लाउन्ज रेस्टुरेन्ट समेत सञ्चालन गर्दै आएका छन्। भारतीय नागरिक रहेका उनले नेपाली नागरिकताधारी आफ्ना भाइको नाममा नेपालमा लगानी गरेका छन्।
उनीसहित प्रहरीले सैयद अकबर शाह, इम्तियाज अली र प्रभात अग्रवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनीहरु गिरोहका नेतृत्व तहमा रहेको र उनीहरुलाई संरक्षण दिने व्यक्तिहरुमाथि छानबिन थालिएको अनुसन्धान टोलीले जनाएको छ।
सुन तस्करीमा सहयोग गरेको आरोपमा विशेष अनुसन्धान टोलीले हालसम्म ४५ जनालाई पक्राउ गरिसकेको छ। टोलीको सिफारिसमा जिल्ला प्रहरी कार्यालय मोरङले दुई महिनाअघि ६२ जनामाथि मुद्दा चलाएको थियो। जसमध्ये २८ जना अझै फरार छन्। तस्करीमा संलग्न थप व्यक्तिको पनि पहिचान खुलेको टोलीले जनाएको छ।
गत वर्ष माघ ९ गते त्रिभुवन विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन लुटपाट भएपछि छानबिन गर्ने क्रममा सुन तस्करी गिरोहको पर्दाफास भएको थियो। सोही सुन लुटेको आशंकामा गिरोहमा आबद्ध सनम शाक्यको गत फागुन १८ गते हत्या भएको थियो। सो हत्या घटनाबाट आफूलाई जोगाउन चूडामणि उप्रेती 'गोरे'ले गरेको चलखेलबारे छानबिन गर्दा सुन तस्करीमा संलग्न थप व्यक्तिहरु पक्राउ परेका हुन्।
तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका ७ प्रहरी अधिकारीसहित ३३ जना हाल कारागारमा छन्। ६ जनालाई हिरासतमा राखी जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ। ४ जना उपर काठमाडौंमा अनुसन्धान भइरहेको छ। पक्राउ परेका दुई प्रहरी भने धरौटीमा रिहा भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।