काठमाडौं– २०१८ फिफा विश्वकप प्रतियोगिता सुरु हुनुअघि जर्मनीले मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्न सकेको थिएन। विश्वकपअघि खेलिएका ४ वटा मैत्रीपूर्ण खेलमा जर्मनी ३ खेलमा जितविहीन बनेको थियो। स्पेनसँग १–१ गोलको बराबरी खेलेको जर्मनीलाई ब्राजिलले १–० र अस्ट्रियाले २–१ गोलले पराजित गरेका थिए। साउदी अरेबियामाथि भने जर्मनीले २–१ को जित हात पारेको थियो। कमजोर साउदीले समेत जर्मनीलाई पटक–पटक दबाबमा राखेको थियो।
तर प्रशिक्षक जोचिम लोले यसअघि पनि विश्वकपअघिको खेलमा जर्मनीले हार बेहोर्ने गरेको इतिहास रहेको तर्क गर्दै आलोचकको मुख थुन्ने प्रयास गरेका थिए। तर विश्वकपमा पनि जर्मनीको सुरुवात खराब हुन पुग्यो। साबिक विजेता जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० गोलले पराजित भयो।
दोस्रो खेलमा स्विडेनमाथि २–१ को जित हात परे पनि जर्मनीको विश्वकप यात्रा कठिन मोडमा थियो। बुधबार राति निर्णायक खेलमा पनि जर्मनी फिक्का देखियो। दक्षिण कोरियासँग २–० ले पराजित हुँदै ४ पटकको विश्वविजेता समूह चरणबाट घर फर्कन बाध्य भयो।

आखिर जर्मनी किन पहिलो चरणबाटै घर फर्कियो? कहाँ चुक्यो जर्मनी? प्रश्नहरु उठेका छन्।
विश्वकप सुरु हुनुअघि खेलाडी छनोटको विषयमा प्रशिक्षक लोको आलोचना भएको थियो। विश्वकपका लागि घोषणा गरिएको टिममा उनले २२ वर्षीय फरवार्ड लिरोए सानेलाई स्थान दिएनन्। सानेले सिजनमा म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका थिए। अर्कोतर्फ ४ वर्षअघि जर्मनीलाई च्याम्पियन बनाउन निर्णायक गोल गरेका मारियो गोट्जे पनि टिममा थिएनन्। गोट्जेको निर्णायक गोलमा जर्मनीले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै चौथो पटक विश्वकपको उपाधि जितेको थियो।
दक्षिण कोरिया विरुद्धको निर्णायक खेलमा पनि खेलाडी छनोटको विषयलाई लिएर प्रश्न उठेको छ। खेलमा जर्मनीले ५ खेलाडी परिवर्तन गरेको थियो। फिट हुन संघर्षरत मेसुज ओजिललाई थोमस मुलरको स्थानमा खेलाइएको थियो। तर ओजिलले खेलमा कुनै प्रभाव देखाउन सकेनन्। त्यसैले प्रशिक्षक लोले राम्रा खेलाडीको साथ पाए पनि सही रणनीति बनाउन नसकेको देखिएको छ।

लो सन् २००६ देखि जर्मन टिममा छन्। उनले जर्मनीलाई २००८ को युरो कपमा फाइनल पुर्याएपछि आफ्नो प्रभाव देखाउन थालेका थिए। उनले जर्मन टिम सम्हालेको ८ वर्षमा विश्वविजेता बनाएका थिए। जस कारण लोको सम्झौता सन् २०२० सम्मका लागि गरिएको थियो। तर जारी विश्वकपको समूह चरणबाटै जर्मनी बाहिरिएपछि उनको भविष्यमाथि समेत प्रश्न उठेको छ।
जर्मनीका गोलकिपर नेउर ३२ वर्षका भए। यस्तै ओलिज ३१ वर्षका हुँदा रेउस पनि २९ बर्ष लागिसकेका छन्। त्यसैले टिमका सिनियर खेलाडीका लागि यो अन्तिम विश्वकप हुन सक्नेछ।

समूह चरणबाटै बाहिरिए पनि प्रशिक्षक लोले जर्मन टिमको भविष्य उज्ज्जल रहको दाबी गरेका छन्। 'अहिले पनि केही बिग्रिहालेको छैन जस्तो लाग्छ,' उनले भने, 'टिममा प्रतिभाशाली युवा खेलाडी छन्। उनीहरुले जर्मन टिमलाई उचाइमा पुर्याउन सक्छन्। यस्तो नजिता हामीले मात्रै बेहोरेका होइनौं। अब नयाँ योजना बनाएर अघि बढ्नुपर्छ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।