काठमाडौं– रुसले युक्रेनमाथि गरेको आक्रमणले त्यहाँका फिल्म निर्देशकहरुलाई पनि असर गरेको छ। युक्रेनका फिल्मकर्मीहरु अहिले क्यामेरा छाडेर बन्दुक उठाउन बाध्य भएका छन्।
१९९१ मा युक्रेनले स्वतन्त्रता पाएपछि त्यहाँको फिल्म क्षेत्र पनि अन्तराष्ट्रिय रुपमा परिचित हुँदै गएको थियो। रसियाका फिल्मकर्मीहरुले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा स्थान पाएका थिए।
तर, अहिले भने परिस्थिति फेरिएको छ।
‘युक्रेन फिल्म उद्योग संघ’का अध्यक्ष तथा फिल्म निर्माता भोलोडिमिर यात्सेन्को आफूसँग कुनै किसिमको सैनिक तालिम नभएपनि बाध्य भएर बन्दुक उठाउन परेको स्क्रिन डेल्लीसँगको कुराकानीमा बताएका छन्। उनी तीन दिनअघि युरोपमा स्वतन्त्र फिल्मकर्मीहरुलाई आर्थिक सहायता दिने कार्यक्रम ‘युरिइमेज’मा सामेल हुन आएका थिए। तर, आफ्नो देशमा युद्धको सुरुवात भएसँगै उनी फर्किएका छन्।
‘हामीलाई अहिले युरोपले हतियारहरुको सहायता गर्नु आवश्यक छ,’ यात्सेन्को भन्छन्, ‘हामी आफूलाई बचाउन सक्ने अवस्थामा छैनौं। मेरो विचारमा यदि युरोप चुपचाप यसमा संलग्न नभई बसेमा हामीलाई उनीहरु (रुसी सेना)ले मार्नेछन्।’
४४ वर्षिया यात्सेन्को आफूहरु सडकमा आएर लडेरै भएपनि आफ्नो देशको सुरक्षा गर्नुपर्ने अवस्था आएको बताउँछन्।
युक्रेनका अर्का फिल्मकर्मी ओलेग सेन्स्सोभ आफू युद्धमा सामेल हुनुपर्ने अवस्था आएको बताउँछन्। २०१४ मा रसियाले क्रिमियामाथि गरेको आक्रमणको क्रममा रुसले गिरफ्तार गरेका उनी पाँच वर्षसम्म रुसी जेलमा थिए। तीन वर्षअघि जेलबाट छुटेका उनी आफ्नो फिल्मकर्म गरिरहेका थिए। तर, अहिले त्यो अर्कै दिशामा मोडिएको उनी बताउँछन्। उनले भनेका छन्, ‘मैले पनि यो लडाईंमा सामेल हुनु परेको छ।’
‘डोन्बास’, ‘स्टेट फ्युनेरल’जस्ता समिक्षात्मक रुपमा सफल फिल्म निर्देशन गरेका सेर्गेई लोज्नित्सा सरकारले देशको सुरक्षा गर्न चाहनेहरुलाई हतियार दिएको बताउँछन्। उनी भन्छन्, ‘आफ्नो क्षेत्रको रक्षामा इच्छुकहरुलाई सरकारले हतियार, गोला बारुद दिएको छ। हामीसँग आफ्नो देश बचाउन यो बाहेक विकल्प छैन।’
युक्रेनमाथि रसियाले गरेको हमलालाई लिएर दुवै देशका फिल्मकर्मीहरुले आपत्ती पनि जनाएका छन्। दुई पटकसम्म अस्करमा छनोट भएका रुसी–युक्रेनी फिल्म निर्देशक तथा निर्माता एलेक्सजेन्डर रोड्नन्यान्स्की रुसले युक्रेनमाथि गरेको हमलाबारे थाहा पाएर चिन्तित भएको बताउँछन्।
उनी भन्छन्, ‘मलाई किभमा मिसायलहरु खसिरहेको छ भन्ने विश्वास लागिरहेको छैन्। म आफ्नो शहर, आफन्त र साथीभाइहरुले कुन अवस्थामा जीवन गुजारिरहनु परेको छ भनेर चिन्तित छु।
रोड्नन्यान्स्कीले आफ्नो इन्स्टाग्राममार्फत आफू शोकमा भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।