काठमाडौं- ‘सांसद भई सपथ लिएको चार वर्ष पुगेछ। कोठा पनि चार ठाउँ सारियो। रहरले होइन बाध्यताले। एउटा सांसद र घरबेटीको कथा, कोठा खोज्न हिँड्यो नामथर सुरुमा सोध्छन्। अनि अहिलेको बाठो घरबेटी सांसद भन्नासाथ मान्छे बढी आउँछन्, नेतालाई नदिने भन्छन्। घुमाउरो पाराले जात थाहा पाएपछिको पन्छाउने तरिका। केही गरी कोठा पायो केही दिनपछि बहाना सुरु, मान्छे बढी आउन थाले मर्मत वा आफन्त आउने। यस्तैयस्तै कुराले पिरोलेको मन...’
प्रतिनिधिसभाकी सांसद आशा विकले केही दिनअघि फेसबुकमा राखेको स्टेटसको अंश हो यो।
उनी सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङकी हुन्। २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भइन्। त्यही वर्ष फागुनमा पहिलो पटक काठमाडौं टेकिन्।
काठमाडौं आएपछि मध्यबानेश्वरमा डेरा बसिन्। त्यस घरमा बझाङकै एक जना नेता बस्थे। त्यसैले डेरा खोज्ने झन्झट गर्नु परेन। त्यहीँ बसिन्। थर र जात पनि लुकाउनु परेन।
हुन त त्यति बेलासम्म उनलाई डेरा खोज्न थर र जात लुकाउनुपर्छ भन्ने थाहै थिएन।
बसिरहेको कोठा बिस्तारै उनलाई साँघुरो हुँदै गयो। नेता र सांसदलाई भेट्न आउने र पाहुना लाग्नेको संख्या धेरै हुनु स्वाभाविक हो। साँघुरो भएपछि उनले कोठा सर्नुपर्ने भयो। आफैं कोठा खोजेर हिँड्ने समय थिएन। अनि, कोठा भाडामा खोजिदिने व्यक्तिहरूसँग समन्वय गर्न थालिन्।
उनलाई लाग्थ्यो– काठमाडौं शिक्षित र सभ्य मानिस बस्ने ठाउँ हो, त्यसैले जातीय छुवाछुत नहोला। डेरा पाउन समस्या हुँदैन होला।
उनले डेरा खोजिदिने व्यक्तिलाई आफ्नोबारे सबै विवरण दिइन्। ती व्यक्तिले पुरानो बानेश्वर क्षेत्रमा हुम्लाका कांग्रेस निकट नेता बस्ने घरमा डेरा भेटाए।
ती व्यक्तिले डेरा भेटिदिन हम्मे परेको सुनाए। उनको भनाइ उधृत गर्दै आशा विक भन्छिन्, ‘दिदी तपाईंको जातको मान्छेलाई काठमाडौंमा डेरा दिनै मान्दैनन्। सबै कुरा मिल्छ, थर भनेपछि आनाकानी सुरु हुन्छ। भोलि घरसल्लाह गरेर भनौँला भन्छन् र आफैंलाई चाहिने भनेर खबर गर्छन्।’
दोस्रो पटक कोठा भाडामा खोज्दा पनि उनले यस्तै समस्या भोगिन्।
उक्त ठाउँबाट सर्नुपर्ने भएपछि फेरि तिनै व्यक्तिसँग सम्पर्क गरिन्। फेरि पनि उनले मुस्किलले कोठा भेटाएको बताए। आशा भन्छिन्, ‘कोठा खाली नै हुन्छ। देखाउँछन् पनि। तर, जब थर सोध्छन्, अनि अनेक बहाना बनाउन थाल्छन्। काठमाडौंमा कोठा पाउन एकदम समस्या छ।’
कोठामा बसिसकेपछि पनि दलित भएकै कारण घरबेटीले सर्नका लागि भनेको तीतो अनुभव पनि उनीसँग छ। उनी संसद बैठकमा वा कार्यक्रमतिर जाँदा उनका श्रीमान् कोठामा नै हुन्थे। भेटघाटका लागि आउने मान्छे पनि हुन्थे। पाहुना पनि आइरहन्छन्। अनि घरबेटीले उनका श्रीमानसँग आफैंलाई कोठा चाहिने हुनाले सरिदिन भन्थे। ‘उनीहरूले अनेक बहाना बनाएर कोठा सर्न भन्छन्। तर, भनेको बेला कोठा कहाँ पाइन्छ र? फेरि कोठा खाली भए पनि दलितलाई दिँदैनन्। काठमाडौंमा बस्नै गाह्रो छ,’ उनी भन्छिन्।
अहिले उनी पछिल्लो पटक कोठा सरेको दुई महिना भयो। चार वर्षमा चौँथो पटक डेरा सरेकी हुन्। उनीसँगै सांसद विमला विकलाई पनि कोठा चाहिएपछि दुवै जना खोजीमा थिए। संसद भवन नजिक हुनेगरी थापागाउँ, अनामनगर, मैतीदेवी, नयाँ बानेश्वर क्षेत्रमा कोठा चाहिएको थियो। यसपटक पनि उनीहरूले मुस्किलले कोठा पाएका छन्। तर, कहिले निस्किनुपर्ने हो ठेगान छैन।
दलित मात्र नभएर नेताहरूलाई पनि काठमाडौंका घरबेटीले डेरा नदिने उनको अनुभव छ। ‘नेता भनेपछि पनि काठमाडौंमा कोठा दिँदैनन्,’ उनी भन्छिन्, ‘मान्छे धेरै आउँछन्, भिड नै लाग्छ, घर फोहोर हुन्छ, पानी पुग्दैन, होहल्ला हुन्छ भन्ने जवाफ पाइन्छ।’
अचेल त भाडामा कोठा खोजिदिने व्यक्तिले समेत आनाकानी गर्न थालेको उनी बताउँछिन्। ‘तपाईंको थरको मान्छेलाई कोठा चाहिएको भन्दा घरबेटी नाक खुम्च्याउँछन्, हाम्रो त पेसा नै धरापमा पर्छ भन्न थालेका छन्,’ उनले भनिन्, ‘ती भाडामा कोठा खोज्ने व्यक्तिले बरु यस्तो समस्या संसदमै उठाउन सुझाव दिन्छन्। तपाईं त ठाउँमा हुनुहुन्छ, बोल्नुस् बरु भनेर भन्छन्।’
यो सबै समस्या जातव्यवस्थाको कारण भएको आशा विक बताउँछिन्। ‘पूर्वीय समाजको यो तहगत संरचना हेर्दा सिंगो दलित समुदाय दमनमा परेको हजारौँ वर्ष भइसकेको हुनुपर्छ। आजको वैज्ञानिक युगमा पनि त्यसकै निरन्तरता छ,’ उनी भन्छिन्, ‘हामी नीतिनियम बनाउने र बोल्ने ठाउँमा भएका व्यक्ति त विभेदमा परेका छौँ भने दूरदराजको अवस्था के छ भनेर अनुमान लगाउन सकिन्छ।’
छुवाछुत र विभेदविरुद्धको कानुन कडाइका साथ पालना गराउनुपर्ने उनी बताउँछिन्। शिक्षा दिएर मात्र विभेद र छुवाछुत नहट्ने हुनाले चेतनाकै तहमा काम गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि हाम्रा संस्कृति र संस्कारलाई सुधार गर्नुपर्ने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।